शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (स्कुल एजुकेसन सेक्टर प्लान- एसईएसपी) को समीक्षा बैठक सुरु गरेको छ। बैठक पाँच दिनसम्म चल्नेछ।
समीक्षा बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्रलगायत विभिन्न निकाय तथा एसईएसपीमा सहयोग गर्ने विकास साझेदारहरूको सहभागिता छ।
मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षता सुरु भएको पहिलो दिनको बैठकमा विकास साझेदार संयोजक युरोपेली संघ (ईयू) को नेतृत्वमा आठवटा संयुक्त साझेदार र अन्य विकास साझेदारहरू संयुक्त अधिराज्य बेलायत, ईयू, फिनल्यान्ड, नर्वे, संयुक्त राष्ट्रसंघीय नियोग (युनिसेफ), एसियाली विकास बैंक, विश्व बैंक लगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न देशका राजदूत र एजेन्सी प्रमुखहरूले आ-आफ्नोतर्फबाट शिक्षा क्षेत्रमा रहेका कार्यक्रमबारे जानकारी गराएका थिए।
बैठकमा सचिव पौडेलले शिक्षा क्षेत्रमा सरकार र विकास साझेदारको संयुक्त प्रयासबाट धेरै उपलब्धि हासिल गर्न सफल भएको बताए।
तथापि विद्यालयमा आधारभूत तहमा विद्यार्थीहरूको सिकाइ तथा शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई अझै प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उनले बताए।
बैठकको प्राविधिक सत्रमा शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८३/८४ को लागि अर्थ मन्त्रालयबाट प्राप्त भएको बजेट सिलिङका आधारमा शिक्षा मन्त्रालयबाट प्रस्ताव गरिएका विभिन्न कार्यक्रमहरूको विषयमा समीक्षा भएको थियो।
त्यसै गरी बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सूचकहरूका विषयमा शिक्षा मन्त्रालय र सम्बद्ध निकायबाट भएको प्रगतिको पनि समीक्षा गरेको छ।
समूहगत छलफलमा एसइएसपीको कार्यान्वयनमा रहेका मुख्य चुनौतीहरू, संघ, प्रदेश र स्थानीय तहका शिक्षासँग सम्बद्ध पदाधिकारीहरूको सहभागिता थियो। सो छलफलमा एसईएसपी कार्यान्वयनका सन्दर्भमा प्रदेश र स्थानीय तहले भोगिरहेका समस्या र ती समस्याहरूको समाधानका लागि आगामी दिनमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबाट अवलम्बन गर्ने कार्यनीति र रणनीतिहरूबारे छलफल भएको थियो।
मंगलबारको बैठकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा प्राविधिक सत्रहरूमा अन्य विषयमा छलफल हुनेछ। छलफलमा आएका विषयलाई समेटेर आगामी ६ महिनामा गर्नुपर्ने समझदारीका कार्यहरू अघि बढाइने शिक्षा मन्त्रालयले जनाएको छ।
यसैबीच एईएसपीमा लगानी साझेदारी गर्ने विकास साझेदार निकायका प्रमुखहरूले सोमबारनै शिक्षामन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरी दुईपक्षीय हितका साथै विभिन्न निकायहरूले नेपालको शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको विषयमा छलफल भएको थियो।
सो भेटमा विकास साझेदार निकायले नेपालको शिक्षा क्षेत्रमा गरिरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया