अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको बताए। ‘सुशासनविना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्रै बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ।’
उनले अब सरकारले प्रणाली सुधारमा केन्द्रित भएको बताए। यसमा कसैलाई संरक्षण नगरिने उनको भनाइ थियो।
‘सिस्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई अव संरक्षण गरिदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन।’
उनले सरकार उत्पादन, नवपर्वन र उद्यमशीलताद्वारा आत्मनिर्भर अर्थतन्त्र बनाउनेतर्फ पाइला चालिरहेको बताए। त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आउने उनको भनाइ थियो।
सबै राजनीतिक दलको लक्ष्य एउटै भए पनि त्यहाँ पुग्ने बाटो मात्रै फरक भएको उनको भनाइ छ। ‘साध्य र गन्तव्यमा विमती नहोला। त्यहाँ पुग्ने बाटोमा केही विमती छन्,’ उनले भने।
त्यसैले राष्ट्रिय स्वतन्त्री पार्टी (रास्वपा)ले सुशासनमा जोड दिएको उनको भनाइ थियो। त्यसै आधारमा आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए।
Shares

प्रतिक्रिया