नेपाली कांग्रेसका सभापति गगन थापाको निर्णयले पार्टीभित्र १५औँ महाधिवेशनको निष्पक्षताबारे प्रश्न उठेको छ। पार्टीको आन्तरिक एकताका लागि महाधिवेशनको निष्पक्षतामा संस्थापन इतर पक्षले प्रश्न उठाइरहेका बेला सभापति थापाले मनोनयन जारी राखेका छन्।
गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको कार्यसमितिले गत चैतमा ११ मा १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको थियो।
गत चैत ११ मा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट असोज १६ देखि १९ सम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित भएको छ।
विदेशस्थित पार्टीको जनसम्पर्क समितिको अधिवेशन साउन मसान्त, भदौ २ मा वडा अधिवेशन, भदौ ७ मा पालिका अधिवेशन, भदौ १७ मा प्रदेश क्षेत्रीय अधिवेशन, भदौ २४ मा क्षेत्रीय अधिवेशन, असोज २ र ३ मा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ।
यस्तै असोज ७ र ८ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।
‘पार्टीका सबै तहको मिति तोकी सकेपछि विभिन्न नियुक्तिहरू गर्नु महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हुन्छ’ भन्ने विगतको मुद्दा बिर्सिएर सभापति थापा पदाधिकारीको जिम्मेवारी बाँडफाँट, विभिन्न समिति र भ्रातृ संस्थाको नेतृत्व मनोनयनमा तल्लीन छन्।
१४औँ महाधिवेशनको मिति तोकेर तत्कालीन सभापति शेरबहादुर देउवाले विभिन्न समितिमा मनोनयन गर्दा वर्तमान सभापतिसहितका नेताहरू प्रतिवादमा उत्रिएका थिए।
तत्कालीन केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मनोनयनको विरोधमा विज्ञप्ति निकालेका थिए।
‘महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो’, उनीहरूको प्रश्न थियो, ‘यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ। पार्टीका सबै तहको मिति तोकिसकेपछि विभिन्न नियुक्तिहरू गर्नु महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो। तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ।’
महाधिवेशनको निष्पक्षताका लागि मनोनयन खारेजी हुनुपर्ने माग उनीहरूको थियो।
‘विभागको खारेजीबाट मात्रै महाधिवेशनको निष्पक्षताको सुनिश्चित हुन सक्छ,’ देउवाको मनोनयन अस्वीकार गर्न उनीहरूले भनेका थिए, ‘यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रहसमेत गर्छौँ।’
तत्कालीन समयमा महाधिवेशनको निष्पक्षता खोज्ने थापा अहिले सभापति छन् भने पौडेल र घिमिरे महामन्त्री छन्। देउवाले गरेको मनोनयनको बचाउमा उभिएका तत्कालीन पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा अहिले उपसभापति छन्। विशेष महाधिवेशनलगत्तै गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका सभापति थापा चैत ११ पछि १५औँ महाधिवेशन केन्द्रित देखिए। तर, महाधिवेशनका लागि आवश्यक कामभन्दा सभापति थापाको ध्यान विभिन्न निर्णय र नियुक्तिमा बढ्ता देखिन्छ।
महाधिवेशनको मिति तोकेपछि सभापति थापाबाट १५ निर्णय र नियुक्त भएका देखिन्छन्। चैत ११ मा महाधिवेशनको कार्यतालिकासँगै निर्वाचन समिति र केन्द्रीय लेखा समिति गठन गरिएको थियो। वैशाख २ मा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, अर्का उपसभापति उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कांग्रेस निर्वाचन ब्युरो गठन गरियो।
यस्तै महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा तीन सदस्यीय सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन हुँदा संगठन परिचालन तथा समन्वय समितिको नेतृत्व अर्का महामन्त्री गुरुराज घिमिरेले पाए।
कांग्रेसले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गर्दा कांग्रेसको मर्यादाक्रम निर्धारण समितिको जिम्मेवारी चिनकाजी श्रेष्ठलाई दिएको थियो। वैशाख ६ मा उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १७ सदस्यीय संविधान संशोधन अध्यायन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन भयो भने २२ मा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठामा ३९ जनालाई सदस्यमा मनोनयन गरिएको थियो।
वैशाख २३ मा उपसभापति शर्मा नेतृत्वको प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्य चयन भए। सभापति थापाले वैशाख २५ मा नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेललाई मनोनित गर्दा वैशाख २८ मा देउवा र कोइराला निकट १९ जनालाई केन्द्रीय समितिमा ल्याए। वैशाख ३० मा केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको कांग्रेस अनुशासन समिति पुनर्गठन गरेका सभापति थापाले जेठ १ मा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरे।
सोही दिन सभापति थापाले भरतकुमार शाहको संयोजकत्वको केन्द्रीय लेखा समितिमा चार सदस्य थपे। जेठ ३ मा बसेको उपसभापति शर्मा नेतृत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले ११ उपसमितिको संयोजक चयन गरेको छ।
कांग्रेस नेता मीन विश्वकर्माले सभापति थापा पार्टीभित्र प्रतिस्पर्धा नहुने परिस्थिति निर्माणको योजनामुताबिक अगाडि बढेको बताए।
‘सिंगो पार्टीको सभापति बन्दा आगामी महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुन्छ भन्ने उहाँको बुझाइ देखिन्छ। विशेष महाधिवेशनजस्तै निर्वाचित होइन, घोषित सभापति बन्ने चाहना होला। उहाँको निर्णय र शैलीले त्यही देखिन्छ,’ उनले भने।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई बाहिर राखेर १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ हुन नसक्ने उनको भनाइ छ।
‘गगनजी पहिला पार्टी एक बनाउनेभन्दा एक्लै अगाडि बढ्ने कुरामा जोड दिराख्नुभएको छ। सहमतिमा कार्यतालिका ल्याउन सकिन्थ्यो,’ विश्वकर्माले भने, ‘पार्टी मिलाउने भन्दा कार्यतालिका ल्याउने कुरामा हतार गर्नुभयो। कार्यशैलीले हेर्दा महाधिवेशनको निष्पक्षता भन्दा पनि पार्टी विभाजन हुने अवस्था बन्दै छ।’
महामन्त्री गुरुराज घिमिरेले भने महाधिवेशनको मिति तोकेर गरिएका मनोनयन र निर्णयलाई विशेष महाधिवेशनपछिको विशेष परिस्थितिका रूपमा व्याख्या गरे।
विगतमा नेतृत्वमा भएकाहरूले महाधिवेशन प्रभावित क्रियाशील सदस्यता र मनोनयनमा मनपरी गरेको आरोप लगाउँदै उनले आफूहरूले त्यस्तो नगरेको दाबी गरे।
‘कांग्रेसमा पहिलोपटक क्रियाशील सदस्यता लिन चाहने सबैले पाउने अवस्था छैन। महाधिवेशनको हिसाबकिताब गरेर क्रियाशील सदस्यता वितरण गरिएको छैन। मनोनयन पनि महाधिवेशन प्रभावित पार्न होइन। पार्टीको आवश्यक काम गरिएको हो’, उनी भन्छन्, ‘नियमित महाधिवेशनबाट आएको नेतृत्वले विगतमा समयमा काम नगर्ने र महाधिवेशनको मिति तोकेपछि मनोनयन र नियुक्तिमा ध्यान दिने कुराको हामीले विरोध गरेका थियौँ। अहिलेको अवस्था त्यो होइन।’
समयमा कुनै पनि सांगठनिक काम नगरेर महाधिवेशनको मिति तोकेपछि भटाभट गरिने मनोनयनले महाधिवेशन निष्पक्ष हुँदैन भनेर आफूहरूले विगतमा कुरा उठाएको महामन्त्री घिमिरेको दाबी छ।
‘विशेष महाधिवेशनले काम गर्ने विशेष परिस्थितिमा हो। समयको सुविधा नै छैन। पहिला निर्वाचित भएर आउने तीन/चार वर्ष सत्ता र निर्वाचनमा मात्र केन्द्रित हुने काम हुन्थ्यो। महाधिवेशनको कार्यतालिका आएपछि मात्र भटाभट मनोनित गर्ने काम हुन्थ्यो’, उनले भने, ‘विभाग नबनाउने, कार्यसमितिलाई पूर्णता नदिने, भ्रातृ संस्थाको महाधिवेशन नगराउने प्रवृतिको विरोध गरिन्थ्यो।’
विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरूलाई मनोनयन गर्दा पनि महाधिवेशनको निष्पक्षतामा प्रश्न उठाउनुको अर्थ नरहेको तर्क उनी गर्छन्।
Shares

प्रतिक्रिया