राजनीति


बालेन सरकारबारे रविसँग रास्वपा सांसदका तीन गुनासो, भने- प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन

‘सरकारको कामकारबाही प्रभावकारी भएन, प्रधानमन्त्री र मन्त्रीलाई भेट्न पाइएन’
बालेन सरकारबारे रविसँग रास्वपा सांसदका तीन गुनासो, भने- प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन

सभापति रवि लामिछानेसँग छलफलका क्रमा रास्वपा कोसीका सांसद। तस्बिर: अविनाश आचार्यको फेसबुकबाट


लोकेन्द्र भट्ट
जेठ ८, २०८३ शुक्रबार १४:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्री र सरकारबारे सभापति रवि लामिछानेसँग तीन विषयमा गुनासो गरेका छन्। 

सभापति लामिछानेले शुक्रबार रास्वपाका कोसी प्रदेशका सांसदसँग छलफल गरेका छन्। छलफलका क्रममा सांसदले प्रधानमन्त्री शाह, मन्त्रीहरू र सरकारका कामकारबाहीको चर्को आलोचना गरेका हुन्। 

छलफलको सुरुवातमै सभापति लामिछानेले सरकारका विषयमा भएको गुनासो निर्धक्क भएर सुनाउन ‘फ्लोर ओपन’ गरेको छलफलमा सहभागी एक सांसदले नेपालखबरलाई बताए। ‘केही माननीयहरूले संसद्‌मा सरकारबारे बोल्नु भएको छ। संसद्‌मा नबोल्नुस्, केही गुनासो छ भने मलाई भन्नुस्,’ लामिछानेले भनेका थिए। 

त्यसपछि रास्वपा सांसदले निर्धक्कसँग आफ्नो गुनासो राखेको ती सांसदले सुनाए। छलफलमा सहभागी सांसदहरूका अनुसार, काेसी प्रदेशका सांसदले विशेष गरेर तीन विषयमा आफ्नो गुनासो राखेका छन्। 

पहिलो, प्रधानमन्त्री शाह र मन्त्रीहरूका विषयमा रहेको छ। उनीहरूले जनगुनासो प्रधानन्त्री र मन्त्रीलाई सुनाउन नपाएको सभापति लामिछानेलाई सुनाएका छन्। 

‘प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्दा हामीलाई अप्ठ्यारो भएको छ,’ बैठकमा सहभागी सांसदको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयमा हाम्रो एक्सेस भएन। हामीलाई रेस्पोस्न नै गर्नुभएन।’

प्रधानमन्त्री र मन्त्रीसँग भेटघाट समेत गर्न नपाएको उनीहरूको भनाइ थियो। अझ प्रधानमन्त्री र मन्त्रीका सचिवालयले समेत नटर्ने गरेको रास्वपा सांसदले सभापति लामिछानेसँग गुनासो गरेका छन्। 

दोस्रो, सरकारलाई लिएर उनीहरूले गुनासो गरेका छन्। ‘सरकार र सांसदबीच दूरी बढेको छ,’ रास्वपा सांसदले बैठकमा भने। 

आफ्नो क्षेत्रका बासिन्दाले समस्या सुनाउने गरेको र ति समस्या लिएर प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पुर्‍याउन नसकिएको उनीहरूको पीडा छ। जसले गर्दा सरकारका कामकारबाही जनताको अपेक्षा अनुसार नभएको उनीहरूले भनाइ छ। 

‘हामी जनताका प्रतिनिधि हौँ। जनताले हामीलाई गुनासो सुनाउँछन्। हामी सरकार पुर्‍याउन सकिरहेका छैनौँ। मन्त्री र स्वकीय सचिवालयले वेवास्ता गरिरहेका छन्,’ छलफलमा आएको गुनासो सुनाउँदै अर्का सांसदले नेपालखबरसँग भने, ‘सरकारको कामकारबाही प्रभावकारी भएन।’

झण्डै दुई तिहाईको सरकार हुँदा पनि कामकारबाही प्रभावकारी नभएको र संसद्मा समेत बोल्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ थियो। यस विषयमा प्रधानमन्त्री शाहसँग कुराकानी गर्न रास्वपा सांसदले सुझाएका छन्। ‘पार्टी र सरकारबीच तालमेल नहुँदा संसदमा पनि हाम्रो उपस्थिति फितलो देखिएको छ,’ छलफलमा सहभागी सांसदले भने, ‘पार्टीको लाइन के हो भन्ने विषयमा सभापति र प्रधानमन्त्रीबीच कुराकानी हुनुपर्छ।’

सरकारले गरिरहेका कामको बचाउ गर्नै गाह्रो भएको रास्वपा सांसदको गुनासो छ। छलफलमा सहभागी सांसदले भने, ‘सरकारले गरेका कामको चर्को आलोचना भइरहेको छ। हामीले रफु भर्दै हिड्नु परिरहेको छ।’

रास्वपा सांसदले सरकारलाई पार्टीले निर्देशन दिनुपर्ने बताएका छन्। त्यससँगै सरकार रास्वपाको नीति अनुसार चल्नुपर्ने उनीहरूले सुझाएका छन्। छलफलमा सहभागी सांसदहरूको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो। त्यहीअनुसार, पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्देशन दिनुपर्छ।’

रास्वपा सांसदले उठाएको तेस्रो विषय हो, पार्टी महाधिवेशन। महाधिवेशनको तयारी सुरु भएसँगै नयाँ र पुरानो भनेर गुठबन्दी भइरहेको सांसदले सभापति लामिछानेसँग गुनासो गरेका छन्। 

‘नयाँ र पुरानाका नाममा वडा तहसम्म ठूलो गुटबन्दी भइरहेको छ,’ रास्वपा सांसदले सभापति लामिछानेलाई भनेका छन्, ‘पुरानाहरूले नयाँलाई मैले राखेको ठाउँमा बस्नुपर्छ, मैले दिएको खानुपर्छ भनेर व्यवहार गरिरहेका छन्। नयाँ नेता र कार्यकर्ताले क्षमताअनुसार जिम्मेवारी र भूमिका पाइरहेका छन्।’

रास्वपामा नयाँ भनेर प्रधानमन्त्री शाहको पक्षलाई भन्ने गरिएको छ भने सभापति लामिछाने पक्षका नेता तथा कार्यकर्तालाई पुरानोको संज्ञा दिन थालिएको छ। प्रधानमन्त्री शाह पक्षका नेताहरूले सभापति लामिछाने पक्षका नेतालाई क्षमताअनुसार, जिम्मेवारी नदिने गरेको गुनासो आएको हो। 

सांसदहरूले आउँदो पार्टी महाधिवेशनमा आफ्नो उपस्थितिका विषयमा पनि सोधेका थिए। आफू कुन पदमा लड्न पाउने भन्ने उनीहरूको प्रश्न थियो। त्यसको जवाफमा सभापति लामिछानेले भने, ‘पार्टी विधानअनुसार साथीहरूले सभापतिमा पनि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ। कुनै छेकबार छैन।’

सांसदका गुनासो सुनेपछि रास्वपा सभापति लामिछानेले यसको सम्बोधन गर्ने आश्वासन दिएका छन्। ‘तपाईहरूले उठाएका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्नेछु, कसरी हुन्छ, सहज बनाउनेछु,’ लामिछानेको भनाइ थियो। 

रास्वपा सांसदले प्रतिनिधि सभाको बैठकमा सरकारको विरोध गर्न थालेपछि सभापति लामिछानेले छलफल थालेका हुन्। यसको सुरुवात कोसी प्रदेशबाट गरेका छन्। 

रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने सामान्य छलफल भएको बताए। सभापतिले आफ्नो सांसदसँग छलफल गर्नु नियमित प्रक्रिया भएको परियारको भनाइ छ। 

कोसी प्रदेशका सांसदसँग कुराकानी भएको र अब मधेस प्रदेशका सांसदसँग छलफल हुने उनले बताए। सभापति लामिछानेले सातै प्रदेशका सांसदसँग छलफल गर्ने उनले जानकारी दिए। 

रास्वपा सांसदले गरेको गुनासोका विषयमा भने उनले केही खुलाउन चाहेनन्। ‘यसमा गुनासो भन्ने छैन, सभापति र सांसदबीच सहज रुपमा छलफल भएको छ,’ परियारले भने। 

रास्वपाले चाँडै सरकार र पार्टीको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउँदै छ। सांसदले उठाएका विषय संयन्त्रणको बैठकमा राख्ने पनि सभापति लामिछानेले आश्वासन दिएका छन्। सांसदसँगको छलफलको अन्त्यमा सभापति लामिछानेले भने, ‘सरकारका विषयमा संसद्मा विरोध नगर्नुस्। तपाईहरूले उठाएका विषय म हल गर्छु, कसरी हुन्छ निकास खोज्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad