शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो निर्वाचन क्षेत्र नंं काठमाडौँ ५ मा पहिलोपटक सार्वजनिक सुनुवाइ गरेका छन्। उनले काठमाडौँ महानगरपालिका वडा-४, स्थित विशाल मिलन केन्द्रमा आज (आइतबार) सार्वजनिक सुनुवाइ गरेका हुन्।
निर्वाचनका बेला सार्वजनिक सुनुवाइ गर्ने घोषणाअनुरूप सुनुवाइ गरिएको उनले बताए। सुनुवाइमा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए।
उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयवासीलाई जानकारी गराएका थिए।
मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्यांकन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे।
मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए।
मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाए।
सार्वजनिक सुनुवाइमा स्थानीयवासीले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खानेपानीलगायतका गुनासो गरेका थिए।
स्थानीयवासी जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताए। उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
त्यसै गरी सडक बत्ती र सीसीटीभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरिने उनले बताए।
काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक-एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया