श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको बिरोधमा संसद् बैठक छाडेका छन्।
बुधबार प्रतिनिधसभाको बैठक सुरु हुनासाथ आफ्ना भनाई राखेका राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई सभाबाट निष्कासन गर्न सभामुखसँग माग गरेका थिए।
त्यसलगत्तै साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएका हुन्।
‘सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग हामीले धेरै गरेपनि प्रधानमन्त्री उपस्थित हुनु भएन। सभामुखले पनि रुलिढ गरेर उहाँलाई ल्याउन सक्नु भएन,’ सदनबाट बाहिरिनुअघि साम्पाङले भने, ‘प्रतिनिधिसभा नियमावली १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर सदनमा ल्याउन सक्नु हुन्न भने सभामुखज्यूले नियमावली ३१ को (१) लागू गरेर मलाई सदनबाट निस्काशन गर्नुहोस्।’
उनले कि प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराउन कि आफूलाई सदनबाट निष्कासन गर्न माग गरे। ‘मेरा यी दुई मागमध्ये सभामुखले आज एउटा कार्यान्वयन गर्नुपर्यो,’ उनले भने।
साम्पाङले आफ्ना भनाई राखिसकेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आफ्नो आसनमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर, साम्पाङ भने सदनबाट बाहिरिए।
‘सदनको गरिमा यसरी कायम हुन सक्दैन,’ साम्पाङले भने, ‘कि प्रधानमन्त्रीलाई ल्याउनु पर्यो, होइन भने तँ निस्केर जा भन्नु पर्यो। म बदमास विद्यार्थी जस्तो देखिएको छुु। यी दुईमा एउटा नियम लागू गर्नुहोस्।’
Shares

प्रतिक्रिया