नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको बताएका छन्।
नेकपा स्थानीय तह विभागले आयोजना गरेको ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला’पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सापकोटाले आगामी स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताए। २०८४ सालको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर भेला आयोजना गरिएको उनले बताए।
‘आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिएको हो,’ उनले भने, ‘अहिलेको प्रविधिको युगमा विचार र विधिसँगै प्रविधिलाई जोडेर लैजानु अनिवार्य छ।’
यसका लागि कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। ‘हामी पहिला आफ्नै पार्टीलाई एकताबद्ध बनाउँछौँ,’ सापकोटाले भने, ‘त्यसपछि संयुक्त मोर्चा बनाएर वा कम्युनिस्ट पार्टीको पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ।’
त्यस्तै, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र कार्यक्रममा सहभागी नहुने भन्ने विषयमा टिप्पणी गर्दै नेता सापकोटाले यसलाई ‘अस्वाभाविक’ कदमको संज्ञा दिए। यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया