श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्।
बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गरे।
सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उनको तर्क छ। विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पत्ति बिक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पुर्याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाए।
उनले बजेटका सबै विषयवस्तुमाथि पछि विस्तृत अध्ययन गरी आफ्नो धारणा र टीकाटिप्पणी सार्वजनिक गर्ने जानकारी दिए।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पारे। प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको उनले बताए।
शुक्रबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किएका थिए।
Shares

प्रतिक्रिया