राजनीति


सम्पत्ति छानबिन आयोगलाई कांग्रेसले सहयोग गर्ने, आयोगको स्वच्छतामाथि उठायो प्रश्न

सम्पत्ति छानबिन आयोगलाई कांग्रेसले सहयोग गर्ने, आयोगको स्वच्छतामाथि उठायो प्रश्न

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताएका हुन्। यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेत समेत गराए।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए। उनले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पत्तिसम्बन्धीको विषय छिटो टुंगियोस् भन्ने नेपाली कांग्रेसको चाहाना रहेको पनि बताए।

सभापति थापाले केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको टिप्पणी गर्दै त्यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पारे।

उनले भने,‘केही न्यायमूर्ति र राष्ट्रिय राजनीतिमा संलग्न नेताहरूले हामी सम्पत्ति विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ। त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर नेपाली कांग्रेसको तर्फबाट म पनि र अन्य सबै साथीहरुले पनि  आफ्नो सम्पत्ति विवरण बुझाउनुहुन्छ। हामी यो प्रक्रियमा टुंगिनुपर्छ भन्ने ठान्छौँ। तर आयोग जसरी गठन भएको छ र जुन तरिकाले सरकारको कार्यदेशमा यो अगाडि बढिरहेको छ। भोलि यो आयोगको स्वच्छतामाथि प्रश्न नआओस्।’

बालेन्द्र साह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad