सभापति गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताए। उनले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै कांग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गरे।
उनले भने, ‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन। हामी प्रतिष्पर्धा गर्ने हो। हामी अग्लो हुनु चाहन्छौँ। तपाईहरुको अग्लाई देखेर लोभ लागेको छ। तर हामी तपाईहरुभन्दा अग्लो हुन चाहन्छौँ। बन्छौँ पनि एकदिन। तर तपाईहरुलाई सानो बनाएर, खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहान्छौँ।’
उनले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गरे।
थापाले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकताअनुसार सहकार्य र आलोचना दुवै गर्ने बताए।
उनले भने, ‘हामी सफा हुन चाहन्छौँ तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुग्दन्ध हटाएर सफा हुन चाहन्छौँ। हामी तपाईहरुको दुस्मन होइनौँ। हामी संसदमा प्रतिष्पर्धी छौँ। जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ। जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ।’
उनले आफ्ना नेताहरुको आलोचना गर्न नछाड्न समेत रास्वपापंक्तिलाई आग्रह गरे।
Shares

प्रतिक्रिया