चितवनमा जारी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र तोकिएको समयभन्दा एक घण्टा ढिला हुँदा पनि सुरु भएको छैन।
आज बिहान ८:३० बजे सभापति रवि लामिछाने आएपछि बन्दसत्र थालिने भनिएकामा साढे ९ बजिसक्दा पनि सुरु गरिएको छैन।
अहिलेसम्म बन्दसत्र हलमा कुर्सी नै मिलाइएको छैन।

सभापति लामिछाने पनि बन्दसत्र स्थलमा आइपुगेका छैनन्।
उनी आइतबार राति प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहसँगै १९ किलोमीटर दुरीमा रहेको एक रिसोर्टमा बसेका थिए।
यता बन्दसत्र सुरु नहुँदा कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
केन्द्रीय सदस्यका दाबेदारले फर्म भरेर बुझाउन पाएका छैनन्।
आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन गरिएको रास्वपा महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ।
जहाँ केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
दिउँसो १ बजे निर्वाचन कार्यक्रम थाल्ने तयारी गरेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।
नयाँ नेतृत्व चयन गर्दै रास्वपाको महाधिवेशन मंगलबार सक्ने तयारी छ।
बन्दसत्रको सुरुमा रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेस गर्ने सूची छ।
बन्दसत्रको अन्त्यमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेद पेस गर्ने तालिका छ।
यस्तै बन्दसत्रका क्रममा रास्वपाका कोषाध्यक्ष लीमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।
Shares

प्रतिक्रिया