राजनीति


रास्वपा प्रदेश खारेज गर्ने पक्षमा छैन: रवि लामिछाने

रास्वपा प्रदेश खारेज गर्ने पक्षमा छैन: रवि लामिछाने

नेपालखबर
असार १९, २०८३ शुक्रबार १९:१५, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट बताएका छन्। 

शुक्रबार सिंहदरबारमा रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताए। रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको बताए। 

‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ। यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन्,’ लामिछानेले भने, ‘प्रदेश खारेजी भनेर हामीले कँही लेखे जस्तो त लाग्दैनँ।’

प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलका लागि प्रस्ताव गरिएको उनको भनाइ थियो। प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको उनको जिकिर थियो। 

‘हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महसुस गरेका छन्। रास्वपाले मात्र गरेको होइन,’ उनले भने, ‘कयौँ पुराना राजनीतिक दलका नेताहरूले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन्। हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनको लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ। यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको न हो।’

उनले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad