शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७ समूहको कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ। बलाधिकृत रथी शरदकुमार गिरीले शुभारम्भ गरेको सो तालिममा सेनाका ६०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एक–एकजना अधिकृतको सहभागिता छ।
एक वर्ष अवधिको उक्त तालिममा श्रीलंका, बेलायत र संयुक्त राज्य अमेरिकाबाट एक–एकजना सैनिक अधिकृत सहभागी छन्। सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो।
विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका ९१४, विदेशी ८३, नेपाल प्रहरीका ११, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १४ र रक्षा मन्त्रालयका एक अधिकृतले तालिम पूरा गरेका छन्। सैनिक नेतृत्वमा पुग्नका लागि उक्त तालिम अनिवार्य मानिन्छ।
उक्त तालिम कोभिड–१९ को सम्भावित संक्रमणलाई दृष्टिगत गरी चिकित्सकबाट स्वास्थ्य परीक्षणका साथै क्वारेन्टिनमा राखेर सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया