राजनीति


उपसभामुख र महिलामन्त्रीबीच भेट, दाइजो प्रथा अन्त्यको अभियान मधेसबाट सुरु गर्नेबारे छलफल

उपसभामुख र महिलामन्त्रीबीच भेट, दाइजो प्रथा अन्त्यको अभियान मधेसबाट सुरु गर्नेबारे छलफल

नेपालखबर
साउन ६, २०८३ बुधबार १५:१६, काठमाडौँ

दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

सो विषयमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र उपसभामुख रुबी कुमारीबीच आज (बुधबार) मन्त्रालयमा छलफल भएको छ।

छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्धरूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।

दुवै पक्षले दाइजो प्रथा महिला हिंसा, लैंगिक विभेद तथा सामाजिक अन्यायको प्रमुख कारणमध्ये एक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र व्यापक सामाजिक सचेतना अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

मन्त्री सिता बादीले दाइजो प्रथा केवल कानुनी नभई सामाजिक चुनौती भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्। 
उनले कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तररूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

उपसभामुख रुबी कुमारीले मधेस प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। उनले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad