नेपाली कांग्रेसका केहि सांसदहरु संविधान संशोधनको प्रस्ताव लिएर मंगलबार दिउँसो संसद सचिवालय सिंहदरबार पुगेका छन्।
उमाकान्त चौधरी, चित्रलेख यादव, डा. अमरेश कुमार सिंह, तेजुलाल यादव लगायत सांसदहरु संशोधन प्रस्ताव लिएर संसद पुगेका हुन्।
‘हाम्रो केन्द्रीय समिति बैठकबाट निर्देशन भए अनुसार नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका छौं। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एमालेको असहयोगले त्यो बेला दर्ता भएको संशोधन विधेयक असफल भएको थियो, त्यसैलाई अगाडि बढाउन लागेका हौं’, सांसद उमाकान्त चौधरीले नेपालखबरलाई जानकारी दिए।
संशोधन विधेयक दर्ता गर्न अहिले कांग्रेस संसदीय दलको कार्यालयमा छलफल गरिरहेको पनि उनले बताए।
‘एकपटक संघीय संसद सचिवालयका महासचिवलाई भेटिसक्यौं, आजै दर्ता पनि हुनसक्छ, छलफल गर्दैछौं,’ चौधरीले भने।
शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने निर्णय गरेको थियो।
हालै जारी गरेको नयाँ नक्शालाई संविधानमा पनि अद्यावधिक गर्नका लागि यसअघि सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको छ भने राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले संयुक्तरुपमा नागरिकता लगायतका विषयमा संशोधन विधेयक दर्ता गराएका छन्।
मधेसी दलहरुले उठाएकै विषयवस्तु संवोधन गर्ने गरी देउवा सरकारका पालामा संशोधन विधेयक दर्ता गरिएको थियो।
यसैबीच, राष्ट्रिय जनमोर्चाका सांसद लगायत नेताहरु पनि संघीयता खारेजको माग गर्दै संसद सचिवालय पुगेका छन्।

प्रतिक्रिया