सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा केन्द्रीय सदस्यलाई तलवको व्यवस्था गर्ने र बैठक नचलेको दिनको सांसद भत्ता कटौती गर्ने एजेण्डा थपिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सुरु भएको बैठकमा स्थायी समितिका सदस्यहरूले नै केही एजेण्डा थप गरेका हुन्।
बैठकको पहिलो दिन बुधबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि करिब एक दर्जन स्थायी समिति सदस्यले एजेण्डाबारे बोलेका थिए। उनीहरूकै सुझावका आधारमा विविध शीर्षक अन्तर्गत ६ वटा एजेण्डा थपिएको हो।
बैठक सुरु हुनुअघि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले ६ वटा एजेण्डा तय गरेका थिए।
‘विविध शीर्षक अन्तर्गत थपिएका एजेण्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई पार्टीले पारिश्रमिकको व्यवस्था गर्ने र बैठक नचलेको बेलाको सांसद भत्ता नलिने पनि छन्’, ती सदस्यले भने।
नेकपामा अहिले ४३७ जना केन्द्रीय सदस्य छन्। तीमध्ये संघीय र प्रदेशमा मन्त्री, सांसद रहेका तथा स्थानीय तह र पारिश्रमिक आउने अन्य जिम्मेवारीमा रहेका बाहेकका केन्द्रीय सदस्यहरूलाई तलवको व्यवस्था गर्न माग गर्दै त्यसलाई बैठकको एजेण्डा बनाइएको हो।
त्यस्तै कोरोना महामारीका कारण आएको संकटको सामना गर्न कर्मचारीहरूको सुविधा कटौती गरिएको अवस्थामा सांसदहरूले चाहिँ बैठक नबसेको दिनको पनि भत्ता लिइरहन नमिल्ने भन्दै त्यो कटौती गर्ने एजेण्डा बैठकमा राखिएको हो। संघीय र प्रदेश दुवै संसदका नेकपाका सांसदको भत्ता कटौती गर्न माग गरिएको छ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्र पनि हेर्न दिने गरी आउन लागेको विधेयक पनि बैठकको एजेण्डा बनाइएको छ। कोरोना र लकडाउनका कारण संकट झेलिरहेका व्यवसायीलाई कस्न सरकारले यो विधेयक ल्याउन लागेको भन्दै त्यसको चर्को आलोचना भइरहेको छ।
स्थायी समितिका अर्का एक सदस्यका अनुसार विविध शीर्षक अन्तर्गत थपिएका ६ वटा एजेण्डा निम्न छन्ः
१. संघीय संसद सञ्चालन व्यवस्थित गर्ने
२. रुकुम चौरजहारी घटनाको विषयमा पार्टीको आधिकारिक धारणा बनाउने
३. नागरिकता विधेयकबारे थप छलफल गर्ने
४. बैठक नचलेको दिनको सांसद भत्ता छोड्ने
५. पार्टीका केन्द्रीय सदस्यहरूलाई पारिश्रमिकको व्यवस्था गर्ने
६. अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्र पनि हेर्न दिने गरी आउन लागेको विधेयकबारे छलफल गर्ने
बैठक सुरु हुनुअघि अध्यक्षद्वयले तय गरेका एजेण्डा यस्ता छन्ः
१. पार्टीका दुई अध्यक्षको भनाइ
२. कोभिड–१९ संकटको सामना
३. सीमा समस्या
४. सरकार र पार्टी कामको समिक्षा
५. पार्टी एकताको समिक्षा र पूर्णता
६. अमेरिकी सहयोग परियोजना एमसीसी

प्रतिक्रिया