महोत्तरीको पिपरा गाउँपालिकाले दाइजो प्रथालाई निरुत्साहित गर्न सामूहिक विवाह योजना ल्याएको छ। बुधबार भएको नगरसभामा गाउँपालिकाले दाइजो न्युनिकरणको लागि ‘गाउँपालिका अध्यक्ष कन्यादान योजना’ नीति ल्याएको हो।
यस अन्तर्गत दाइजोको कारण आफ्नो छोरीको विवाह गर्न नसक्ने परिवारहरुको लागि गाउँपालिकबाटै छोरीको विवाह गरिदिने योजना रहेको गाउँपालिका प्रमुख बिक्रम चौधरीले बताए। गाउँपालिकाकै खर्चबाट सामूहिक विवाह आयोजन गरी गरिब, विपन्न तथा दाइजो नदिई विवाह गर्ने छोरीहरुलाई विवाह गरिदिने कार्यक्रम रहेको गाउँपालिका प्रमुख चौधरीको भनाइ छ।
मधेशी समाजमा अहिले पनि दाइजोप्रथाले जरा गाडेको छ। जसको चेपुवामा सबभन्दा बढी गरिब तथा विपन्न परिवाहरु परिरहेका छन्।
‘दाइजोको कारण छोरीको विवाह नहुने, विवाह गर्न सक्ने क्षमता नहुने भएका कारण यसलाई निरुत्साहित गर्न गाउँपालिका प्रमुख कन्यादान नीति ल्याएका छौं’ गाउँपालिका प्रमुख चौधरीले भने ‘यस अन्तर्गत हामी त्यस्ता घरपरिवारका छोरीहरुलाई सामूहिक विवाह आयोजन गरी सम्पूर्ण खर्च दिन्छौं।’
गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४७ करोडको बजेट विनियोजन गरेको छ। छैठौं गाउँसभामा ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए।
प्रायः पालिकाहरुमा विवादबिच गाउँ तथा नगरसभा भइरहेको बेला पीपरा गाउँपालिकामा भने सौहार्दपूर्ण वातावरणमा गाउँसभा भएको हो। गाउँपालिकाले प्रत्येक वडामा समान रुपले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका प्रमुख चौधरीले बताए।
अगामी आव २०७७।०७७ को बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजना गरेको प्रमुख चौधरीको भनाइ छ।

प्रतिक्रिया