राजनीति


विवेकशील र साझाबीच एकता संवाद सुरु, रवि लामिछानेदेखि रमेश खरेलसम्म समेट्ने प्रयास

विवेकशील र साझाबीच एकता संवाद सुरु, रवि लामिछानेदेखि रमेश खरेलसम्म समेट्ने प्रयास

यज्ञराज जोशी
असार २९, २०७७ सोमबार १२:२४,

बैकल्पिक शक्ति बन्ने उद्देश्यसहित गठित साझा पार्टीले समान विचार राख्ने अन्य दल, समूहसँग एकीकरण गर्न तथा व्यक्तिहरुलाई समेट्न राजनीतिक संवाद समिति गठन गरेको छ।

पार्टीका संगठन विभाग प्रमुख केशब दाहाल, बागमती प्रदेश संयोजक समीक्षा बास्कोटा र केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सहितको समितिले सबै संभावित पक्षसँग एकता प्रक्रिया अघि बढाउनेबारे वार्ता गर्नेछ।

सो समितिले गत फागुनमा भएको पार्टीको लुम्बिनी राष्ट्रिय भेलाले पारित गरेको ‘विचार, सोँच मिल्ने पार्टी, समूह र व्यक्तिहरुसँग एकता प्रक्रियामा अघि बढाउने’ निर्णयअनुसार सो प्रक्रिया अघि बढाउनेछ।

समितिले यसअघि एकीकरण भई छुट्टिएको विवेकशील नेपाली दलसँग पुनःएकताको पहल गर्न संवाद सुरु गर्ने संगठन विभाग प्रमुख दाहालले जानकारी दिए।

‘बलियो बैकल्पिक पार्टी निर्माण गर्ने हाम्रो अभिष्ट हो। यो अभिष्ट पुरा गर्न समान प्रकृतिका पार्टीहरु मिल्नुपर्छ भन्ने हाम्रा सदस्य तथा शुभच्छेकहरुले पनि चाहना व्यक्त गर्नुभएको छ,’ दाहालले नेपालखबरसँग भने, ‘संवाद सुरु गर्नका लागि दुवै पार्टीले वार्ता कमिटि बनाएको छौं। साथीहरुका केही राजनीतिक, वैचारिक, भावनात्मक कुराहरु छन। यी कुराहरु एक ठाउँमा ल्याइसकेपछि पार्टी एकता गर्नसक्छौं जस्तो लाग्छ।’

यता विवेकशीलले पनि संवाद अघि बढाउन तीन सदस्यीय समिति गठन गरेको छ। जसमा दलका महासचिव निर्देश सिलवाल, केन्द्रीय सदस्य रञ्जु दर्शना तथा बागमती प्रदेशसभा सदस्य समेत रहेका रमेश पौड्याल छन।

विवेकशीलका अध्यक्ष मिलन पाण्डेले दुबै पार्टीको संवाद समिति बनेको र अब औपचारिक बैठक बस्ने बताए।

‘अहिलेसम्म व्यक्तिगत रुपमा मात्रै कुराकानी भएको थियो। दुबै पार्टीको संवाद समिति बनेको छ। अब त्यसको औपचारिक बैठक बस्छ होला,’ पाण्डेले नेपालखबरसँग भने।

दुबै पार्टीको संवाद समितिले कहिले बैठक बस्ने निर्णय गरिसकेका छैनन। पाण्डेले संवाद समितिबाट नीति, दर्शन, विचार, व्यवहार तथा संगठनलगायत कुरा मिले पार्टी एकता अघि बढ्नसक्ने बताए।

साझा पार्टीका संगठन विभाग प्रमुख रहेका दाहालले संवाद समितिले सुरुमा ‘बनाउन चाहेको बैकल्पिक पार्टी कस्तो होरु सैद्धान्तिक, वैचारिक आधार के हुनुपर्छरु’ भन्नेमा छलफल गर्ने र त्यसपछि प्राबिधिक कुरो अघि बढाउने बताए।

रवी लामिछानेदेखि रमेश खरेलसम्मको चर्चा
साझा पार्टीले लुम्बिनी भेलाको निर्णय बमोजिम उक्त संवाद समितिमार्फत सामाजमा ख्याती कमाएका व्यक्तिहरुलाई भित्र्याउने अभियान पनि सुरु गर्ने भएको छ।

त्यसका लागि राजनीतिमा रुचि देखाएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने तथा पूर्व डिआइजी रमेश खरेलसँग पनि पार्टीको अनौपचारिक छलफल भएको साझाका एक केन्द्रीय सदस्यले बताए।

‘समाजमा प्रतिष्ठा कमाएका व्यक्तिहरुलाई भित्र्याउनका लागि संवाद समिति गठन गरिएको हो। रवि लामिछाने, पूर्व डिआइजी रमेश खरेल लगायत अन्यसँग प्रारम्भिक छलफल भइरहेको छ,’ ती केन्द्रीय सदस्यले बताए।

उनका अनुसार लामिछाने र खरेलले पनि अनौपचारिक रुपमा सकारात्मक रहेको बताए पनि पार्टीसँग आवद्ध हुनेबारे औपचारिक केही बताएका छैनन।

दाहालले कसैले पनि एक्लैले पार्टी बनाउन नसक्ने भएकाले समाजिक प्रतिष्ठित व्यक्तिहरु समेट्न आफूहरु खुला रहेको बताए।

‘हामी आह्वान गर्छौं। सबै आइदिए मात्रै बैकल्पिक पार्टी निर्माण गर्न सक्छौं। त्यसका लागि अनेक समूह क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्छौं,’ दाहालले भने।

साझा पार्टीमा आवद्ध हुने विषयमा आफूलाई केही समयअघि प्रस्ताव आएपनि अहिलेको अवस्थामा स्वीकार नगरेको पूर्व डिआइजी खरेलले बताए।

‘उहाँहरुसँग बेलाबेला भेटघाट भइरहन्छ। आउनुस भन्ने प्रस्ताव पनि आएको हो,’ खरेलले नेपालखबरसँग भने, ‘मैले एकदुईवटा कुराहरु राखेको थिएँ। त्यसमा उहाँहरुको र मेरो पनि चित्त बुझेको छैन।’

खरेलले आफूले अहिलेकै अवस्थामा साझाले कांग्रेस कम्युष्टिहरुसँग लड्न नसक्ने भएकाले अन्य पार्टीमा भएका राम्रा मान्छेहरुलाई पनि ल्याउन सुझाव दिएको बताए।

विवेकशील–साझा यात्रा
२०७४ सालमा भएको स्थानीय चुनावमा फरक फरक पार्टीको रुपमा चुनाव लडेका साझा र विवेकशील पार्टी २०७४ कै साउन महिनामा एकीकरण भएका थिए।

त्यसपछि भएको आमनिर्वाचनमा संयुक्त पार्टीकोरुपमा चुनाव लडेका उनीहरु २०७५ पुसमा फेरि विभाजित भएका हुन्।

गतवर्ष मंसिरमा भएको उपनिर्वाचनमा विभाजित रुपमा चुनाव लडेका साझा र विवेकशील दुवै दलले सम्मानजनक भोट पनि नपाएपछि दुवै पक्षले फेरि एकीकरण गर्नुपर्ने आवश्यकता महशुस गरेका थिए।

दुवै पार्टीमा केहि महिनादेखि जारी रहेको बहस र विवादपछि अन्ततः एकीकरणका लागि संवाद समिति गठन गर्ने चरणमा पुगेका हुन्।

याे पनि: ‘दुई-चार जना काठमाडौं बसेर बनाएको संगठन कहिल्यै राष्ट्रिय पार्टी बन्न सक्दैन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .