राजनीति


नेकपा बैठक स्थगन : पाण्डेको प्रतिक्रिया– लाजै मर्दो भो, साह भन्छन्– अनिर्णयको बन्दी बनाइयो

नेकपा बैठक स्थगन : पाण्डेको प्रतिक्रिया– लाजै मर्दो भो, साह भन्छन्– अनिर्णयको बन्दी बनाइयो

नेपालखबर
साउन २, २०७७ शुक्रबार ७:१३,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक कुनै निर्णय लिन नसकी स्थगित भइरहँदा पार्टी नेताहरुले नेतृत्वप्रति तीब्र असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

बैठक सरेको सर्‍यै भएपछि स्थायी कमिटी सदस्यहरुले नै आमजनतामा लाज मर्नु भएको प्रतिक्रिया दिएका छन्।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ट्विटरमा लेखेका छन्, ‘नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ। अब कति सार्ने हो? लाजै मर्दो भो अब त!’

बिहीबार ११ बजेबाट बस्ने तय भएको बैठक ३ बजेका लागि सारिएको सूचना पाएपछि पूर्वअर्थमन्त्री पाण्डेले सामाजिक सञ्जालमार्फत् यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

याे पनि: नेकपा स्थायी समिति बैठक ४ गतेसम्मका लागि स्थगित

अन्य नेताहरुले पनि यस्तै निराशा व्यक्त गर्न थालेका छन्।

स्थायी कमिटी सदस्य गणेश साहले पञ्चायतमा राजनीतिक बन्दी रहेका नेताहरु अहिले आफ्नै पार्टीको अनिर्णयको बन्दी बन्नुपरेको बताए।

‘पञ्चायतकालमा राजनीतिक बन्दी थियौं। अहिले अनिर्णयको बन्दी बनेका छौं। त्यस समयको बन्दी हुँदा इज्जत बढ्थ्यो। अहिलेको बन्दी हुँदा मानसम्मान कमजोर हुँदै गएको छ,’ स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘दुवै अध्यक्षसँग प्रश्न छ। यो अवस्था कहिलेसम्म? जवाफ चाहियो। अझै पनि बैठक बस्छ भन्ने विश्वास लागेको छैन। कुनै पनि समयमा बैठक स्थगित गरिन्छ, केहि टुंगो?’

बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगका भएको छलफलमा प्रधानमन्त्री ओलीले आफू शुक्रबारको बैठकमा उपस्थित हुने बताएका थिए।
‘शुक्रबारको बैठकमा म उपस्थित हुन्छु। मेरो पक्षमा पनि साथीहरुले बोल्नु हुन्छ,’ प्रधानमन्त्री ओलीले दाहाल र नेपाललाई भनेका थिए ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित भएको छ।

यहिबीच प्रधानमन्त्री ओलीले असार १४ गते आफूलाई हटाउन भारत सक्रिय भएको अभिव्यक्ति दिएपछि बहसले नयाँ रुप लिएको थियो।

असार १८ पछि बैठक बस्न सकेको छैन। सहमति खोज्न भन्दै अध्यक्षद्वय ओली र दाहाल निरन्तर छलफलमा रहे पनि कुनै निर्णय गर्न सकेका छैनन्।

बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित तीन नेताबीच भएकाे छलफलमा पनि कुनै सहमति जुट्न सकेन।

बैठकमा प्रचण्ड र नेपाल दुवैले राजनीतिक तथा कुटनीतिक रुपमा कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका थिए।

तर ओलीले भने आफूले राजीनामा नदिने भन्दै विधिसम्मत रुपमा हटाउन चुनौति दिएका छन्।

ओलीले आगामी निर्वाचनबाट मात्रै प्रधानमन्त्री र महाधिवेशनबाट पार्टी अध्यक्ष फेरिने बताएका छन्।

तर कार्यकारी अध्यक्ष प्रचण्डको भूमिकाको बारेमा थप व्याख्या गरेर जानेमा आफू तयार रहेको बताएका छन्।

सचिवालय, स्थायी कमिटी लगायत पार्टी कमिटीहरुमा अल्पमतमा रहेका ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन पूर्णतः अस्वीकार गर्दै आएका हुन्। स्थायी कमिटी बैठकमा बोल्ने धेरैले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका छन्।

‘लामो समय बैठक रोकिदा त्यसले सन्देश पनि राम्रो गएको छैन र परिणाम पनि दिन सक्दैन’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने।

कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनालसहित बहुसंख्यक सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा दिनुपर्ने माग गरेका छन्।

तर ओलीले महाधिवेशनबाट मात्रै पार्टी र आम निर्वाचनको म्यान्डेटअनुसार मात्र सरकारको नेतृत्व परिवर्तन हुने भन्दै त्यस बाहेकको अन्य विषयमा मात्रै छलफल हुने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .