प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार चाँडो महाधिवेशन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तयार भएको छ।
प्रचण्ड, नेपाल र झलनाथ खनालसहितका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि शनिबारको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशनन गरेर मात्र आफूले पार्टीको नेतृत्व छाड्ने प्रस्ताव गरेका थिए।
त्यसपछि प्रचण्ड, नेपाल, खनाल र सो समूहका अन्य नेताहरुले पटकपटक बैठक बसेर चाँडै महाधिवेसन गरेर भएपनि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
‘पार्टीको एकतालाई कायम राख्दै राष्ट्रिय मञ्च (महाधिवेशन) सम्म पुग्ने र त्यहाँबाट सबै कुराको हल गर्ने सहमति भएको छ,’ प्रचण्ड–नेपाल समूहमा रहेका एक सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘अर्ली महाधिवेशनमा जाने कुरा नै अहिले देखिएको समस्याको साझा समाधान हुनसक्छ।’
मंगलबार बिहान खुमलटारमा प्रचण्ड, खनाल र नेपालबीच यसै विषयमा सघन छलफल भएको स्रोतले जनायो। त्यसअघि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि प्रचण्डले छुट्टै परामर्श गरेका थिए।
‘यी सबै छलफलपछि प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको महाधिवेशन गर्ने कुरामा हामीहरु एकमत छौं, तर, समय भने आपसी छलफलमा टुंगो लगाउँछौं,’ ती नेताले भने।
नेकपाको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीले ०७७ चैत अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो।
नेकपाका प्रवक्ता श्रेष्ठले पनि पार्टीभित्र देखिएको गतिरोधको निकास महाधिवेसनले नै दिने बताएका छन्।
मंगलबार दिउँसो प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेसनको तयारीलाई निकासको सूत्र बनाऔँ।’
यद्यपि मंसिरमा महाधिवेसन समयका हिसावले सम्भव नहुने श्रेष्ठले बताए।
‘पार्टीको केन्द्रीय कमिटीले चैतमा महाधिवेसन गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘हामीले महाधिवेसनको विरोध गरेका होइनौं, समयका हिसावले मंसिरमा गर्न सम्भव हुँदैन भन्ने मात्र हो।’
यस्तो सहमतिपछि प्रचण्ड–नेपाल समूहबीच महाधिवेशनमा जाँदा कुन विचार लिएर जाने भन्ने बारेमा समेत छलफल सुरु भएको छ।
‘विचार र संगठनको पक्षका विषयमा हामी छलफल गरिरहेका छौं, कुन विचार सही र अहिलेको समयमा वैज्ञानिक हुन्छ त्यसलाई लैजान्छौं,’ ती सचिवालय सदस्यले प्रस्ट्याए।
पार्टी एकतापछि नेकपाले जनताको जनवादलाई पार्टी सिद्धान्त मान्दै आएको छ।
यसले प्रचण्ड र नेपालबीच देखिएको आशंका पनि कम गर्नेछ। शनिबार प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राख्दा प्रचण्ड मौन बसेको भन्दै नेता नेपालले दुई अध्यक्षबीच मात्र ‘चोचोमोचो’ मिलेको भए त्यसलाई नमान्ने चेतावनी दिएका थिए।
खनाल र नेपाल बिच्किएको ठानेका प्रचण्डले आइतबार बिहान उनीहरुसहित स्थायी कमिटीका प्रभावशाली १४ नेतासँग र सोमबार बिहान पूर्वमाओवादी केन्द्रका स्थायी कमिटीका नेतासँग छलफल गरेका थिए।
नेपालपक्षीय नेतासँग प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको स्पष्टीकरण दिएका थिए। आफू निकटका स्थायी कमिटीका नेताहरुसँग भने ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद स्वीकार गरे एकल अध्यक्ष बनाउन प्रस्ताव गरेको र आफूले अस्वीकार गरेर बाहिरिएको ब्रिफिङ उनले गरेका थिए।
सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद छ।
विवादकै कारण असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठक पटकपटक स्थगित हुँदै आएको छ। मंगलबारका लागि तय गरिएको बैठक पनि नियमित एजेन्डामा प्रवेश नै नगरी एक हप्ताका लागि स्थगित गरिएको छ।
पार्टीभित्र देखिएको गतिरोधको समाधानका लागि ओली–प्रचण्डबीच एक्लाएक्लै भेट भए पनि समझदारी बन्न नसक्दा अन्योल बढिरहेको छ।
Shares

प्रतिक्रिया