स्थगित स्थायी कमिटीको बैठक बोलाउनेबारे नेकपाका दुई अध्यक्षबीच अझै सहमति हुन सकेको छैन।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबारदेखि मंगलबारसम्म तीनपटक छलफलमा बसिसके तर आआफ्ना अडानमा अडिग रहँदा स्थायी कमिटी बैठक राख्नेबारे झन् अन्योलता बढ्दै गएको छ।
झण्डै १ हप्ताकाे संवादहीनता तोड्दै आइतबारदेखि ओली–प्रचण्ड निरन्तर छलफलमा छन्। तर सहमतिमा पुग्न सकेका छैनन्।
दुई अध्यक्षबीचकाे छलफलमा सँगै रहेका एक नेताका अनुसार स्थायी कमिटीको बैठक राख्नैपर्ने दबाबमा प्रधानमन्त्री ओली परेका छन् तर आफू अल्पमतमा रहेकाले उनी राख्न चाहँदैनन्।
‘कि पार्टी नै विघटन गर्नुपर्याे कि स्थगित बैठकको मिति तोक्नुपर्याे,’ बैठकमा सहभागी ती नेताले नेपालखबरसँग भने।
पार्टीभित्र जारी विवाद समाधान गर्न स्थायी कमिटी बैठक नै पहिलो ‘स्टेप’ भएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए।
‘अहिले पार्टीमा देखिएको विवाद समाधानतर्फ जाने फस्ट स्टेप भनेको स्थायी कमिटी नै हो,’ खनालले नेपालखबरसँग भने, ‘त्यहाँबाट हल नभएका विषय अन्य कमिटीमा छलफल गरेर टुंगो लगाउन सकिन्छ।’
ओलीले अहिले उठेका विषयबारे सचिवालय बैठक राखेर छलफल गर्न चाहेका छन्।
स्थायी कमिटीको बैठक बस्ने नबस्ने अनिश्चित बन्दै गइरहेका बेला पार्टीका १५२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित दुवै अध्यक्षलाई पत्र बुझाउँदै केन्द्रीय कमिटी बैठक राख्न माग गरेका छन्।
पटकपटक स्थगन गरेर स्थायी कमिटी बैठकलाई लामो समय अनिश्चयमा राख्न ओलीले नसक्ने खनालले टिप्पणी गरे।
स्थगित बैठक बोलाउन प्रधानमन्त्री ओली सहमत नभए गतिरोध थप लम्बिने अर्काथरी नेताको बुझाइ छ। अहिले पार्टीमा देखिएको गतिरोधकाे प्रमुख कारण नै प्रधानमन्त्रीले बैठकमा जान गरेकाे आनाकानी भएको उनीहरु आरोप लगाउँछन्।
‘गतिरोध तोड्ने प्रधानमन्त्रीजीको जिम्मेवारी हो, उहाँले तोड्नुपर्छ,’ नेकपा नेता मातृका यादवले भने।
मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्म २ अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बालुवाटारमा छलफलमा बसेका थिए। स्थगित स्थायी कमिटीको बैठकको मिति तोक्न प्रधानमन्त्री सहमत नभएपछि प्रचण्ड १ घण्टामै बालुवाटारबाट बाहिरिएको स्रोतले जनायो।
मंगलबार बिहान उपाध्यक्ष वामदेव गौतमलाई उनकै निवास भैसेँपाटी पुगेर अध्यक्ष प्रचण्डले ४० मिनेट भेट गरेका थिए। त्यसपछि साँझ ओलीसँग भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
तर, स्थायी कमिटी बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि एक घण्टामै उनी फर्किएका हुन्।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तुरुन्त स्थगित बैठकको मिति तोकेर जारी गतिरोधको हल खोज्नुपर्ने अडानमा छन्। ओलीले त्यस गर्न अस्वीकार गरिरहेका छन्।
‘स्थायी कमिटीको बैठक तुरुन्त राखाैँ र चारवटा एजेन्डामा छलफल गरौं,’ मंगलबारको बैठकमा पनि प्रचण्डले ओलीसमक्ष भने, ‘कोभिदको एजेण्डा, नयाँ नक्साको एजेण्डा, पार्टी कामको समीक्षा र सरकारको कामको एजेण्डा छन्, यिनीहरुमा छलफल गरौं, त्यसका लागि बैठकको मिति तोकौं।’
तर, ओली त्यसका लागि तयार नभएको नेताहरु बताउँछन्।
‘मैले आज मात्रै विज्ञहरुसँग छलफल गरेँ,’ ओलीले भने, ‘अब धेरै भीडभाड गरेर बैठक राख्नै हुँदैन, छलफल नै गर्ने भए सचिवालय बैठक राखौं।’
ओलीको प्रस्तावलाई प्रचण्ड–खनालले ठाडै अस्वीकार गरे। ‘अहिले जुन कमिटीको बैठक जारी छ त्यसलाई छाडेर अर्काे बैठक राख्न हुँदैन, त्यसले पद्धति बिग्रन्छ, पहिला स्थायी कमिटीको बैठक राखौं, आवश्यक पर्याे भने सचिवालयको बैठक पनि राखौंला,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने।
मंगलबारको कुराकानीमा प्रधानमन्त्री रक्षात्मक रुपमा प्रस्तुत भएको अर्का सहभागीले बताए। ‘आइतबार र सोमबारभन्दा उहाँ आज अलि रक्षात्मक देखिनुभयो,’ उनले भने।
‘फुट्नु हुँदैन, मिलेर जानुको पनि विकल्प छैन, पार्टीका निर्णयलाई सर्वाेपरी गरेर जानुपर्छ, भन्ने कुरामा प्रधानमन्त्री अलिकति लचक भएको जस्तो देखियो, तर स्थायी कमिटीको बैठक राख्न सहमत नभएका कारण यही हो भन्न गाह्रो छ’, ओली–प्रचण्डसँगै छलफलमा रहेका अर्का नेताले भने।
साउन १३ गते ओलीले एकपक्षीय रुपमा स्थगित गराएको बैठक अर्का अध्यक्ष प्रचण्डले बहुमत सदस्य (२९ जना) को सहभागितामा बालुवाटारमै सञ्चालन गरेका थिए। त्यही बैठकले स्थगित बैठकको तत्काल मिति तोक्न अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।
मंगलबारको छलफल प्रारम्भमै तनावपूर्ण रुपमा सुरु भएको एक सहभागीले बताए।
सरकारले लगानी बोर्डमा नियुक्त गरिएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टको बारेमा प्रचण्डले गम्भीररुपमा कुरा उठाएपछि बैठक सुरुमै तात्तिएको हो।
‘यो गलत भयो, यस्ता बिचौलिया, भ्रष्ट, कमिसन एजेन्ट भनिएका मान्छेलाई किन नियुक्ति दिइयो?’ प्रचण्डले ओली समक्ष राखेको प्रश्न उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘यस्तो महत्वपूर्ण पदमा नियुक्ति गर्दा पार्टीमा सल्लाह परामर्श छैन, जानकारी नदिई मनलाग्दी भयो।’
प्रधानमन्त्रीले प्रतिवाद गर्न खोजेपछि केहीबेर माहोल तनावपूर्ण जस्तो बनेको स्रोतको भनाइ थियो।
मंगलबार विहान प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता, विज्ञ डाक्टर, जनस्वाथ्यविद्लाई लकडाउन फेरि लगाउने कि नलगाउने भन्ने विषयमा लामो छलफल गरेका थिए। सो छलफलका क्रममा पनि ओलीले आफ्नै पार्टीभित्रैबाट ठूलो संख्यामा सदस्यहरु रहेको बैठक बोलाउन आफूलाई दबाब दिएकोबारे असन्तुष्टि पोखेका थिए।
थप रणनीति बनाउदै प्रचण्ड–नेपाल पक्ष
विवाद सुल्झिने कुनै संकेत नदेखिएपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुले थप रणनीति तय गर्ने भएका छन्।
स्थगित बैठक बोलाउन प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि कसरी जाने भन्ने बारेमा बुधबार छलफल गर्ने तयारी भएको स्रोतले जनाएको छ।
‘अब निकास निकाल्नुपर्छ, एक महिनाभन्दा बढी समयदेखि पार्टीको बैठकका विषयमा लिएर गतिरोध चुलिएको छ, स्रोतले भन्यो, थप रणनीति बनाउन भोलि बैठक बस्ने सल्लाह भएको छ।’
नेकपाको असार १० गते सुरु भएको बैठक १८ गतेपछि बस्नै सकेको छैन।
प्रचण्ड र नेपाललाई उनीहरु पक्षका नेताहरुले अब जे गर्नुपर्ने हो फाइनल निर्णय नै गरेर अघि बढ्न सुझाव दिएका छन्।
‘बाहिर, आम कार्यकर्तामा नराम्रो प्रभाव परिसक्यो, पार्टीलाई अनिर्णयको बन्दी नबनाऔं, मिलेर जाने हो भने पनि निर्णय गरौं,’ प्रचण्ड–नेपाललाई दिएको सुझाव उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।

प्रतिक्रिया