मधेस


रास्वपाको प्रतिवेदनप्रति अमरेश सिंहको टिप्पणी: संघीयता र समावेशितासँग छेडखानी गर्नखोजे प्रतिरोध

रास्वपाको प्रतिवेदनप्रति अमरेश सिंहको टिप्पणी: संघीयता र समावेशितासँग छेडखानी गर्नखोजे प्रतिरोध

सुभाष कर्ण
असार ११, २०८३ बिहिबार २१:३२, जनकपुरधाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा संघीयता पुनरावलोकन तथा प्रदेश सभा खारेज सम्बन्धी प्रतिवेदनप्रति रास्वपामै प्रश्न उठेको छ।

संघीयता पुनरावलोकन तथा प्रदेश सभा खारेज सम्बन्धी कुरा उठेपछि राजनीतिक वृत्तमा बहस चुलिएको छ। विशेष गरी मधेश केन्द्रित नेताहरूले उक्त प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रतिवेदनप्रति पार्टीका नेता तथा सांसद डा अमरेश कुमार सिंहले कडा टिप्पणी गरेका छन्। उनले संघीयता र प्रदेश संरचना खारेज गर्ने कुनै पनि प्रयासको कडा प्रतिरोध हुने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले नेपालमा संघीयता, समावेशिता र लोकतन्त्र लामो राजनीतिक संघर्षको उपलब्धि रहेको उल्लेख गर्दै कसैले यस व्यवस्थालाई कमजोर बनाउने वा समाप्त गर्ने प्रयास जनताको भावना विपरीत हुने दाबी गरेका छन्। 

‘नेपालको लोकतन्त्र, संघीयता र समावेशितासँग कसैले छेडखानी गरे नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्’ सिंहले भनेका छन्।

रास्वपाको महाधिवेशनमा प्रस्तुत राजनीतिक तथा सांगठनिक दस्तावेजहरूमा प्रदेश तहको प्रभावकारिता, खर्चिलो संरचना तथा प्रशासनिक जटिलताबारे समीक्षा गर्दै प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाइएको हो। 

सिंहले संघीयता केवल प्रशासनिक संरचना नभई विविधता, पहिचान, समावेशिता र क्षेत्रीय सन्तुलनको आधार भएको बताएका छन्। विशेष गरी मधेश, थारु, जनजाति तथा अन्य समुदायले अधिकार प्राप्तिका लागि गरेको लामो संघर्षको परिणामस्वरूप संघीय व्यवस्था स्थापित भएको उनको तर्क छ। त्यसैले प्रदेश संरचना हटाउने वा संघीयता समाप्त गर्ने प्रस्तावले देशलाई पुनः केन्द्रीकृत शासनतर्फ धकेल्न सक्ने उनको चेतावनी छ।

उनले नेपाली जनताले सुशासन, विकास र समृद्धि चाहेको स्वीकार गर्दै त्यसका लागि संघीयता नै बाधक नभएको स्पष्ट पारे। समस्या कार्यान्वयन र राजनीतिक इच्छाशक्तिमा रहेको भन्दै संघीय संरचना सुधार गर्नुपर्ने तर खारेज गर्न नहुने उनको भनाइ छ।

सिंहको अभिव्यक्तिसँगै रास्वपाभित्र संघीयता सम्बन्धी बहस थप चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad