राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले ‘इनफ इज इनफ’ अभियानको माग प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेर भए पनि सम्बोधन गर्नु पर्ने धारणा राखेका छन्।
कोरोना महामारीको सन्दर्भमा युवा अभियानले उठान गरेको जनहित र जनस्वास्थ्यअुनकूल माग रकेट साइन्स नभए पनि, नेपाल सरकारले मागलाई निष्कर्ष दिन किन यत्रो विलम्ब गरेको भन्दै अध्यक्ष राणाले प्रश्न गरे, सरकारको आलोचना गरे।
‘युवा अभियन्ता ईः बिना खाना पानी सत्याग्रहमा बसेको बीस दिन भयो। सरकारको आँखा, कान छ तर बन्द छ,’ अध्यक्ष राणाले ट्वीट गर्दै बिहीबार भनेका छन्, ‘यस अघि प्रधानमन्त्री स्वयमले सत्याग्रहीलाई भेटेपछि वार्ता र सहमति भएको हो, यद्यपि सम्झौता पालना गरिएन। जनहित, जनस्वास्थ्य अुनकूल इनफ इज इनफका माग रकेट साइन्स हैन, सरकार यो विलम्ब किन?’
शान्तिपूर्ण सत्याग्रहको सकारात्मक देन उजागर गर्दै उनले भने, ‘आशा, नैतिकता दुर्बल भएको समाजमा युवा अभियानले सत्य, जवाफदेहीता, प्रजातान्त्रिक आचारलाई मूलधार बनाएको छ। युवा उर्जा, सद्गुण मार्नुमा देशको प्रगति छैन, त्यो देशप्रेम होइन।’
राणाले जोड दिँदै भने, ‘त्यसैले पछिल्लो समय झैं प्रधानमन्त्रीज्यूले हस्तक्षेप गरेरै निकास दिने बेला छ। ढिला नगरौं, युगले धिक्कार्ने छ।’

प्रतिक्रिया