सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल भएको छ।
नेकपाभित्रको विवाद समाधानको लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन तयार पार्ने काम गरिरहेका बेला ओली र प्रचण्डबीच छलफल भएको हो।
पछिल्ला दिनमा दुई अध्यक्षबीच नियमित दैनिक भेट भइरहेको छ।
सोमबार सचिवालय बैठक बसेपछि निरन्तर छलफलमा रहेका ओली र प्रचण्डबीच बालुवाटारमा बिहीबार छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
‘कार्यदलले पनि दुई जना अध्यक्षसँग छलफल गर्छ, उहाँहरुका राय सल्लाह लिन्छ’, प्रेस सल्लाहकार थापाले भने, ‘त्यसले सुझाव दिन्छ, त्यसका निम्ति दुई जना अध्यक्ष बस्नुपर्छ, अहिले कार्यदलले होमवर्क गरिरहेको छ, यता अध्यक्ष पनि आवधिक रुपमा बसिराख्नुभएको छ।’
थापाले दुई जना अध्यक्ष बस्नलाई कुनै एजेण्डा बनाएर बस्ने भन्ने नहुने पनि बताए। विवाद हुँदा पनि बस्नुहुन्थ्यो, सहमति हुँदा पनि बसिराख्नुभएको छ, त्यति हो’, थापाले थपे।
तर, आफूसँग सहमति भए पनि त्यसलाई कार्यान्वयन नगरेकोले प्रचण्ड ओलीसँग त्यति खुसी छैनन्।
‘प्रधानमन्त्री ओलीजीको कार्यशैली सच्चिँदैन कि भन्ने आशंका छ’, प्रचण्डले माधव नेपाललगायतसँग गरेको ब्रिफिङ सुनेका एक नेताले भने, ‘सहमति पालना नहुने हो भनेदेखि कसरी काम गर्न सकिएला र?’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज (कल्याण) रोका, राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई नियुक्त गरेको थियो। पछिल्लो समय ओलीले गरेका राजनैतिक नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट रहँदै आएकामा आजको भेटमा पनि सोही गुनासो गरेको स्रोतले जानकारी दियो।
बिहीबार नै कार्यदलको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलको बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ।

प्रतिक्रिया