सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्याविभाजनका विषयमा सहमति जुटेको छ।
बालुवाटारनिकट स्रोतका अनुसार अब प्रधानमन्त्री ओली सरकारको काममा मात्रै केन्द्रित हुनेछन्। यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड भने पार्टी सञ्चालनमा केन्द्रित हुनेछन्।
बालुवाटारमा भएको ओली र प्रचण्डबीचको छलफलमा सो सहमति भएपछि यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाइएको छ। सहमतिअनुसार पार्टी सञ्चालनमा महासचिव विष्णु पौडेललाई पनि भूमिका दिइएको छ।
प्रचण्डले पार्टी कमिटी सञ्चालन गर्दा पौडेलसँग परामर्श लिनेछन्।
सहमतिअनुसार ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने छन् भने प्रचण्डले पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारी सम्हाल्ने छन्।
प्रचण्डले ओलीसँगको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने छन्।
त्यस्तै, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने, अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने सहमति पनि भएको छ।
याे पनि: यस्तो छ नेकपा विवाद समाधान गर्ने ओली–प्रचण्ड प्रस्ताव

प्रतिक्रिया