राजनीति


संकटकाल हो भने सेना परिचालन हुन्छ : प्रधानसेनापति थापा

संकटकाल हो भने सेना परिचालन हुन्छ : प्रधानसेनापति थापा

नेपालखबर
भदौ २४, २०७७ बुधबार १३:४१,

कोरोना संक्रमण नियन्त्रण गर्न सेना परिचालन गर्नुपर्ने बहस भइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारले संकटकाल घोषणा गरे परिचालन हुने बताएका छन्।

‘राष्ट्रलाई संकटकाल हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना परिचालन हुन्छ’, थापाले भने, ‘सेना जहिले सहयोगी भूमिकामा बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो।’

नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको नेपाली सेनाको दायित्व सरकारको आदेश पालना गर्नु रहेको प्रधानसेनापति थापाले बताए।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज बुधबार जंगीअड्डामा सम्पादकहरुसँग अन्तरक्रिया गर्दै थापाले सेनाको दायित्वबारे व्यख्या गरेका हुन्।

२०७५ भदौ २४ गतेदेखि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थापाले दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको दाबी गरे र अब नेपाली सेनाको सुदृढीकरणमा जोड दिने आफ्नो योजना सुनाए।

कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मेवारी पाउँदा सेना र रक्षा मन्त्रालयबीच कुनै असमझदारी नभएको प्रधानसेनापति थापाले प्रष्ट्याए। उनले मन्त्रालयको म्यान्डेटअनुसार नै जंगी अड्डाले सामग्री खरीद गरेको बताए।

थापाले आफ्नो तीन वर्षे कार्यकाल पूरा भएपछि थप अवधि पदमा बस्ने कुनै ईच्छा नरहेको बताए।

सेना राष्ट्रिय सुरक्षाभन्दा ठेक्कापट्टामा केन्द्रित भएको टिप्पणीको खण्डन गर्दै थापाले भने, ‘कल्याणकारी कोष सञ्चालन, बाटो निर्माण जस्ता विषयलाई व्यापारसँग जोड्न मिल्दैन। कल्याणकारी कोष व्यापार होइन।’

नेपाली सेनालाई व्यवसायीकरण गर्दै जानु पर्ने बताउँदै थापाले मुलुकको रक्षा गर्न सक्ने अवस्थामा सेना रहेको बताए।

‘सानो देशको हुँदैमा राष्ट्रको रक्षा गर्न सक्दैनौं भन्ने होइन, अंग्रेजसँग पनि हामी लडेकै हौं’, थापाले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .