ad ad

समाज


मिटरब्याजी चौधरीको आतंक: ऋणभन्दा १० गुना बढीको तमसुक, यातना र श्रीमती उठाउने धम्कीपछि गाउँले विस्थापित

मिटरब्याजी चौधरीको आतंक: ऋणभन्दा १० गुना बढीको तमसुक, यातना र श्रीमती उठाउने धम्कीपछि गाउँले विस्थापित

शैलेन्द्र महतो
भदौ २४, २०७७ बुधबार १४:१,

महोत्तरीको औरही नगरपालिका १ बजारटोलकी ५० वर्षीया पासोदेवी मण्डल खत्वे भदौ १४ गते बिहान घरमै कामधन्दामा व्यस्त थिइन्। एकाबिहानै छिमेकी मिटरब्याजी विजय चौधरी (कलवार) को परिवारै उनको घरमा आइपुग्यो।

‘लिएको ऋण तुरुन्तै तिर्, नत्र थलाको भैँसी फुकाल्छु,’ विजयले उनलाई धम्की दिए।

‘अहिले लकडाउन छ। खानै मुस्किल छ। त्यत्रो रकम अहिले नै कहाँबाट तिर्न सक्छु? केही समयपछि दिन्छु,’ पासोदेवीले जवाफ दिइन्।

तर, विजय मान्दै मानेनन्। उनी भैँसी फुकाल्न लम्किए। पासोदेवीले रोक्न खोजिन्। त्यसपछि विजय, उनकी आमा फुलोदेवी र भाइ सन्तोष पासोदेवीमाथि खनिए। उनको कपाल भुत्ल्याए, साडी च्याते, मुक्का–लात्ती हाने।

पासोदवीका पति गुदरी मण्डल र बुहारी रामपरी उनलाई बचाउन पुगे। तर, चौधरी परिवारले उनीहरुलाई कुटपिट गर्‍यो। निर्घात कुटपिटले पासोदेवी घाइते भइन्। उपचारका लागि स्थानीय एक क्लिनिकमा भर्ना भइन्। घर फर्केको एक सातासम्म पनि उनी निको भइसकेकी छैनन्।

‘जिउभरी दुखिरहेको छ। औषधि खाँदैछु,’ उनले नेपालखबरसँग पीडा पोखिन्।

IMG_20200831_172114.jpgपासोदेवी र उनको परिवार

पैसाको जरुरत परेपछि पासोदेवीले मिटरब्याजी विजय चौधरीसँग २०७५ सालतिर दुईपटक गरी १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। तर, चौधरीले चौधरीले पासोदेवीसँग सावाँको चार गुना बढी अर्थात ६ लाख रुपैयाँको कपाली तमसुक बनाएका थिए। त्यसमाथि पनि १० प्रतिशत ब्याज उनले तिर्नुपर्ने तमसुकमा उल्लेख थियो।

पासोदेवीका अनुसार सोही पैसा फिर्ता माग्दै यसअघि पनि चौधरी परिवारले उनीमाथि घरभित्रै पसेर तीन पटक गालीगलौज गरेको थिए।

चौथो पटक उनीमाथि निर्घात कुटपिट भएपछि पासोदेवीले औरही प्रहरी चौकीमा उजुरी हालेकी थिइन्। तर, प्रहरीले उजुरी नलिएपछि भदौ १५ गते नेपालखबरमा यससम्बन्धी समाचार प्रकाशित भएको थियो। त्यसपछि प्रहरीले चासो लिएर गुदरी मण्डलको उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला सेलमा दर्ता गर्‍यो।

तर, जिल्लामा गएर छलफल गर्दा आफ्नो कालोधन्दा भण्डाफोर हुने डरले चौधरी परिवार गाउँमै घटना मिलाउन अघि सरे। पीडित परिवारलाई पनि उनीहरुले मिल्न दबाब दिए। भदौ २० गते बिहान गाउँकै केही भद्रभलाद्मी बसाए। कुटपिटविरुद्ध कारबाही नगर्ने भन्दै एक लाखको दुधालु भैँसी लिएर ऋण चुक्ता भएको मान्ने र घटना थामथुम पार्ने सहमति भयो। चौधरीले पासोदेवीसंग बनाएको ६ लाखको झुठो कपाली तमसुक पनि तत्कालै फिर्ता दिए। स्थानीय औरही प्रहरीचौकीमा पुगेर दुवैपक्षले मिलापत्रको कागज गरे। मिटरब्याजी चौधरीले पासोदेवीको एक मात्र आम्दानीको श्रोत दुधालु भैँसी फुकाएर लगे। तमसुक तत्कालै जलाउन चौधरी परिवारले सुझाएको कारण गुदरी मण्डलले घर आउने बित्तिकै जलाए।

तर, मिटरब्याजी विजय चौधरीबाट गाउँका कयौँ गरिब लुटिने क्रम रोकिएको छैन। उनी प्रतिबजार हजारको दरले ऋण लगाउने गर्छन्। औरहीमा साताको दुई पटक बजार (हटिया) लाग्ने गर्छ। उनले अत्यन्त चर्को ब्याजदरमा ऋण लगानी गरेर कयौँलाई उठिबास लगाएका छन्। कति त गाउँबाटै विस्थापित समेत भएका छन्।

मिटरब्याजी विजय चौधरी

७० हजार ऋण लिएको, तमसुक बन्यो ७ लाखको
औरही बजारकै छेउमा घर भएकी ममतादेवी मण्डलले २०७४ को पुस र माघ महिनामा तीन पटक गरी ७० हजार रुपैयाँ ऋण लिएकी थिइन्। उनका पति रामचन्द्र मण्डल वैदेशिक रोजगारमा थिए। मिटरब्याजी विजय चौधरीले उक्त ७० हजार रुपैयाँको प्रतिबजार हजारको दरले ब्याजको स्याज समेत गरी २०७४ फागुन ५ गते १ लाख ७३ हजार २ सय रुपैयाँ सावाँ बनाए।

सोही दिन ममतादेवी मण्डलसँग चौधरीले चारगुना बढी अर्थात ६ लाख ९२ हजार ८ सय रुपैयाँको कपाली तमसुक एकवर्ष अघिको मिति (२०७३ माघ २ गते) तोकेर बनाए। सो तमसुक चौधरीले आफ्नो नाममा नभई अर्की एक ऋणी तारा मण्डललाई साहु बनाएर लेखाएका थिए। तर, त्यो तमसुक उनी आफैँले राखेका छन्। जसमा सयकडा १० प्रतिशत ब्याजदर तोकिएको छ।

IMG_20200908_124218.jpg

तमसुकमा २०७४ पुस मसान्तभित्र ब्याजसहित एक मुस्ट रकम बुझाउनु पर्ने बेहोरा उल्लेख छ। कपाली तमसुकमा तोकिएको समयभित्र ऋणीले साँवा र ब्याज एकमुस्ट बुझाउन नसके, आलटाल गरे घरघडेरी, चल अचल सम्पतिबाट असुल उपर गरिलिने र कतै कुनै उजुरबाजुर समेत नगर्ने सर्तमा ऋणी ममतासंग सहीछाप गराइएको छ।

तमसुकको तल्लो भागमा एक वाक्यमा साँवा ‘१ लाख ७३ हजार २ सय रुपैयाँ २०७४ फागुन ५ गते। ब्याज प्रतिबजार रु.३५००।’ उल्लेख गरिएको छ।

साहुले तल्लो भागमा उल्लेख गरेको आधारमा ऋणीसँग १ लाख ७३ हजार २ सयको प्रतिबजार ३ हजार ५ सयको ब्याजदरले महिनाको साढे २४ हजार रुपैयाँ हुन्छ। यस हिसाबले सयकडा १७२ प्रतिशत ब्याज हुन जान्छ। अर्थात सरदरमा एकलाख रुपैयाँको एकबजार अर्थात ४ दिनको ब्याज २ हजार १९ रुपैयाँ पुग्छ।

यता ऋणी महिला ममताकी पति रामचन्द्र मण्डलले आफूहरुले ७० हजार मात्र ऋण लिएको बताएका छन्।

‘म विदेशमा हुँदा मेरी श्रीमती ममताले एकजना आफन्तलाई सहयोग गर्न र घरखर्चको लागि तीनपटक गरी मात्र ७० हजार रुपैयाँ लिएकी थिइन्। तर दुई महिनामै चौधरीले मेरी श्रीमतीसंग १ लाख ७३ हजार २ सय रुपैयाँ साँवा कायम गरी कपाली तमसुक बनाए,’ पीडित रामचन्द्रले भने ‘तमसुक बनाएको तीन हिना भित्रै मैले विदेशबाट दुईपटक ५०–५० हजार रकम पठाएर साहु चौधरीलाई दिन लगाएँ। ३० हजार सापटी पनि दिएको थिएँ। हिसाब गर्दा साहुको ऋण चुक्ता भयो। तर तमसुक फिर्ता गरेनन्।’

आफु विदेशबाट आएपछि पनि थुप्रैपटक चौधरीसँग तमसुक माग्दा ८० हजार मात्रै ऋण तिरेको र अझै ५० हजार ऋण तिर्न बाँकी रहेको भन्दै दिन नमानेको रामचन्द्रको गुनासो छ।

‘धन्न मैले तमसुकको फोटो कपी जसोतसो हात पारेको छु। यसले उसलाई अलि अलि डर लागेको छ। तर पनि हामीलाई उनले कुनै बेला डुबाइदिन सक्छन्,’ डर मान्दै रामचन्द्रले भने।

ऋणीलाई चर्पीमा थुनेर चुटे, अकालमै गयो ज्यान
विजय चौधरीसँग ऋण लिएका एक व्यक्ति चरम यातनापछि गाउँबाटै विस्थापित भएको र उनले अकालमै ज्यान गुमाउनुपरेको घटना समेत सार्वजनिक भएको छ।

तीन वर्षअघि औरहीकै अन्दाजी ३८ वर्षीय मदन चौधरीले सुदखोर विजय चौधरीसँग घरखर्चका लागि बजारकै हजार ब्याजदरमा केही ऋण लिएका थिए। समयमा ऋण तिर्न सकेनन्। मिटरब्याजी विजय चौधरीका परिवारले पटकपटक मदन चौधरीलाई घरमै पसेर गालीगलौज गर्दै कुटपिट गरे। धाकधम्की दिए।

विस्थापित मदन चौधरीको घर

‘साहु विजय चौधरीका परिवारले तीनचार दिन मदनलाई ऋण तिर भन्दै चरम यातना दिए। दुईदिन शौचालयमै दुईतीन घण्टा थुनेर कुटे। दुई दिन घरमा पनि थुनेर कुटे। सुदखोर चौधरी परिवारकै बर्बर यातना सहन नसकी मदन चौधरी झण्डै दुईवर्ष अघि गाउँघर नै छाडेर परिवारसहित भागे,’ एक स्थानीयले भने ‘चौधरीकै कुटपिटको कारण स्वास्थ्य समस्या भोगिरहेका उनको एक वर्षपछि मृत्यु भएको खबर सुनेँ।’

श्रीमती उठाइदिने धम्कीपछि परिवारै विस्थापित, दुई वर्षमा चार ऋणीले गाउँ छाडे
मिटरब्याजी चौधरीले गरिबको बाध्यताअनुसार कसैलाई १ लाखको बजारको १ हजारदेखि बजारको ५ हजारसम्म ब्याज असुल गर्ने गरेको स्थानीय पीडित रामचन्द्र मण्डलले बताए।

सुदखोर विजय चौधरीसँग ऋण लिएकाहरु विस्थापित हुने क्रम बढ्दो छ। पछिल्लो २ वर्षमा औरही बजारका चार घरपरिवार मिटरब्याजी चौधरीकै कारण विस्थापित भएका छन्।

एक वर्षअघि बस्तीकै अर्का ऋणी नथुनी साह सुनार परिवारसहित भागे। ऋण तिर्नकै लागि मिटरब्याजी चौधरीले डरधाकधम्की देखाउँदै इज्जतमाथि धावा बोल्ने प्रयास गरेपछि नथुनी विस्थापित भएको स्थानीय बासुदेव मण्डल बताउँछन्।

‘नथुनीले ऋण तिर्न नसकेपछि चौधरीले उनकी श्रीमतीलाई नै उठाएर लग्ने धम्की दिए। त्यसपछि उनी भागे,’ बासुदेव भन्छन्।

त्यस्तै, लक्ष्मण झाले २०७६ फागुनमा गाउँ छाडे। विजय चौधरीसंग प्रतिबजार हजारको ब्याजदरमा घरखर्चकै लागि लिएको ऋण तिर्न नसक्दा साहुको डरत्रासले उनले गाउँ छोडेको रामचन्द्र मण्डल बताउँछन्।

गएको चैत महिनामा सोही बस्तीका राजु राउतले गाउँ छाडे। उनी पनि चौधरीबाट चर्को ब्याजमा ऋण लिएका थिए।

बासुदेवकै भाइ जोगी मण्डलले झण्डै २ वर्ष अघि घर खर्चका लागि ५८ हजार रुपैयाँ बजारको हजार ब्याजदरले लिएका थिए। ३५ बजार पुगेपछि जोगीले पैसा नदिँदा विजय चौधरी घरमा पसेर उनको कपाल समातेर कुटपिट गरेका थिए। त्यसबेला बासुदेवले उनको ऋण तिरेर भाइलाई बचाएका थिए।

‘बजारको हजार ब्याजदरको ऋण अत्यन्तै चर्को हुन्छ। गरिब विपन्नलाई अति आवश्यक परेको बेला चौधरीबाट ऋण लिनै पर्छ। तर थोरै समयमा बुझाउन सकेन भने त्यसले बर्बादी निम्त्याउँछ,’ बासुदेव मण्डलले भने ‘हामी कमजोर छौँ। साहुहरु पहुँच र पावर भएका मान्छे छन्। उनीहरुसंग लड्नै सकिँदैन। त्यसैले ऋण तिर्न नसके चौधरीको यातना सहनु अथवा गाउँबाट विस्थापित हुनुको विकल्प छैन।’

चौधरीले यस बस्तीका दर्जनौँ गरिबलाई घरखर्च, विवाह, ब्रतबन्धको बेला चर्को ब्याजदरमा ऋण दिएका छन्। सो बस्तीमा ६५ घरपरिवार दलित र विपन्न छन्।

विजय चौधरीले भने आफूले नियमसंगत हिसाबले मात्र ऋण लगानी गरेको दाबी गरे। उनले थप कुरा बुझ्न भेटेरै कुरा गर्नुस् भन्दै फोन काटे।

विस्थापित नथुनी साह सुनारको घर

पीडित अगाडि बढे हामी सहयोग गर्छौँः मुख्यन्यायाधिवक्ता झा
मुलुकी देवानी संहिता २०७४ को दफा ४७८ को उपदफा २ मा सयकडा १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन। कानुनअनुसार कपाली तमसुक बनाएर १० प्रतिशतभन्दा बढी ब्याज लिनु गैरकानुनी हुने अधिवक्ता राजकुमार महासेठले बताए।

‘बैंक तथा वित्तीय संस्थाको हकमा छुट्टै व्यवस्था छ। घरखर्चको लागि तमसुक बनाएर दिएको ऋण सयकडा १० प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही हुन्छ,’ उनले भने।

मुलुकी संहिता २०७५ लागू भएपछि व्यक्तिले ५० हजार भन्दा बढी रकम ऋण लगानी गर्दा स्थानीय जनप्रतिनिधिको रोहबरमा लेनदेन गर्नुपर्ने व्यवस्था छ।

यता प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झाले कपाली तमसुक बनाएर १० प्रतिशतभन्दा बढी लिनेमाथि फौजदारी कानुन लाग्ने बताए। उनले पीडित ऋणीहरुलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न आग्रह गर्दै आफूले पनि यस्तो मुद्दामा मुख्यन्यायाधिवक्ताको कार्यालयबाट सहयोग गर्ने जनाए।

‘चर्को ब्याजदरमा ऋण लगानी गरेर गरिब विपन्नलाई शोषण गर्नु गैरकानुनी हो। त्यस्ता मिटरब्याजीमाथि फौजदारी मुद्दामा कारबाही हुन्छ,’ मुख्यन्यायाधिवक्ता झाले नेपालखबरसंग भने, ‘म पीडितहरुले प्रहरीमा उजुरी गर्न आग्रह गर्दछु। हाम्रो कार्यालयले एक्सन लिन्छ। सरकारी वकिल कार्यालयलाई हामीले पत्रकार गरी सहयोग गर्न भन्छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .