मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने निर्णयमा असहमत हुँदै नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नोट अफ डिसेन्ट लेखेका छन्।
उनले एमसीसी नेपालको हितमा नभएकोले त्यसलाई अनुमोदन गर्नै नहुने बताए।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा आफूले नोट अफ डिसेन्ट राखेको पोखरेलले नेपालखबरलाई बताए।
‘मैले एमसीसी राष्ट्रिय हितमा नभएकोले र त्यसलाई परिमार्जन र संशोधन गर्न सम्भव नभएकोले नोट अफ डिसेन्ट लेखेको हुँ,’ उनले भने।
उनले एमसीसीसँगै दर्जन बढी सहायक सम्झौता पनि भएको र तिनलाई गोप्य राखिएकोले यसलाई अनुमोदन गर्नु घातक हुने दाबी गरे।
‘एमसीसी स्वयं नेपालको राष्ट्रिय हितअनुकूल छैन,’ पोखरेलले भने, ‘त्यसमा पनि अमेरिकीहरुले एमसीसीको मूल सम्झौता संशोधन हुँदैन भनेर भनिसकेका छन् भने हामीले त्यसलाई कसरी परिमार्जन र संशोधन गर्न सक्छौं?’
‘एमसीसी इन्डो प्यासिफिक स्ट्राट्रेजी (आईपीएस) को अंग हो। हामीले अमेरिकी डिफेन्स पोलिसीलाई किन सहयोग गर्ने?’ उनले प्रश्न गरे।
आईपीएस दक्षिणपूर्वी एसियामा समाजवादलाई रोक्न बनाएको संयन्त्र रहेको बताउँदै उनले थपे, ‘यसको उद्देश्य सैन्यपनि हो र गैरसैन्य पनि हो, त्यसकै एक अंग एमसीसीलाई अनुमोदन गर्न हाम्रो कानुनले दिँदैन। हामीले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएका छौं।’
एमसीसी अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न ल्याएको परियोजना भएकाले नेपालमा चीनविरोधी गतिविधि गर्ने त्यस्तो सम्झौता अनुमोदन गर्नु रणनीतिक, आर्थिक, राजनीतिक र संवैधानिक र प्राविधिक रुपले पनि बेठिक भएको कारण आफूले नोट अफ डिसेन्ट लेखेको उनले स्पष्ट पारे।

प्रतिक्रिया