सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुढीगण्डकी आयोजनासँग जोडेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहालमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएको छ।
बुधबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै बुढी गण्डकी आयोजनामा दुवै अध्यक्षले अरबौं रकम घुस लिएको भनी डा. भट्टराइले लगाएको आरोप आधारहीन, झूठ, कपोकल्पित एवं दुरासयपूर्ण रहेका बताएका छन्। उनले नेकपाले उक्त आरोपलाई पूर्ण रुपमा खारेज गर्ने बताएका छन्।
डा. भट्टराईले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा सार्वजनिक रुपमै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यसअघि नै बुढी गण्डकी आयोजनामा आफ्ना सभापति शेरबहादुर देउवाले घुस लिएको प्रमाण दिन चुनौती दिएको थियो।
प्रवक्ता श्रेष्ठले त्यससँग सम्बन्धित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौति दिएका छन्।
‘केही दिनअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हाम्रा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतले बुढीगण्डकी परियोजनामा अबौं रकम घुस लिएको भनी सार्वजनिकरुपमा प्रकट गरेको अभिव्यक्ति बिल्कूल आधारहीन, झूठ, गलत, कपोकल्पित एवं दुरासयपूर्ण रहेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं।’
उनले डा. भट्टराईले भन्दै आएको तथाकथित प्रमाणको भ्रमको खेती मात्र हो भन्ने स्पष्ट भएको बताएका छन्। उनले राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा माग्नुपर्ने बताएका छन्।
‘यद्यपी त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ। तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया