प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउने प्रक्रिया पुनः छठ पर्वपछि सुरु हुने भएको छ। छठ पर्व लगतै प्रदेशसभामा स्थायी राजधानी र नाम सम्बन्धी प्रस्ताव लगिने प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए।
पहिलो पटक सदनमा लगेको नाम र स्थायी राजधानी टुंगो लागाउने प्रस्तावमा ४ चैत २०७६ मा मतदान हुँदा दुईतिहाई मत नपुग्दा फेल भएको थियो। फेल भएको सात महिनापछि पुनः नाम र राजधानीको प्रस्ताव लैजाने तयारीमा प्रदेश सरकार लागेको छ।
कानुनमन्त्री यादवले छठ पर्वपछि नाम र स्थायी राजधानी टुंग्याउने विषयमा सदनसँगै दलहरूसँग आन्तरिक सहमतिको प्रयास थालिएको जानकारी दिए।
‘छठ पर्व लगतै सञ्चालन हुने प्रदेशसभामा हामी सबभन्दा पहिले प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव लग्ने तयारीमा छौं। नाम र राजधानीको लागि दलहरुसँग आन्तरिक छलफल गर्दैछौं’ मन्त्री यादवले नेपालखबरसँग भने।
तत्कालिन सत्तासिन दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संयुक्त रुपमा स्थायी राजधानी ‘जनकपुर’ र नाम ‘मधेश’ प्रस्ताव गरेको थियो।
यस्तै ठूला प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी ‘जनकपुर’ र नाम ‘जानकी प्रदेश’ प्रस्ताव गरेको थियो भने अर्को प्रतिपक्षी नेपाली कांग्रेसले समेत राजधानी जानकपुर र नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको थियो। कांग्रेस, फोरम र राजपाका केही सांसदहरु बागि भएर वीरगञ्ज राजधानी र नाम ‘मध्य मधेश’ को प्रस्ताव दर्ता गराएका थिए।
दोश्रो पटक पुनः सुरु हुने प्रदेश २ को नाम र राजधानीको प्रक्रियामा दलहरु राजधानीको विषयमा एकमत देखिएपनि नाममा आ–आफ्नै अडानमा देखिन्छ। यसले आगामी दिनमा झनै किचलो हुने सम्भावना प्रवल देखिन्छ।
बर्तमानमा सत्तासिन दल राजपा र फोरम समेत मिलेर बनेको जनता समाजवादी पार्टी राजधानी जनकपुर र नाम मधेश प्रदेश हुनु पर्ने प्रस्ताव पुनः सदनमा लैजाने तयारीमा छ। राजधानीको रुपमा पुनः ‘जनकपुर’ र नामको रुपमा ‘मधेश प्रदेश’ प्रस्ताव गर्ने तथा नाम र राजधानीमा कुनै प्रकारको परिवर्तन नहुने गरी अन्य दलहरुबाट सहमतिको प्रयास थालिएको कानुन मन्त्री यादवको भनाइ छ।
मन्त्री यादवले भने ‘पहिचानकै लागि पटक पटक मधेश आन्दोलन भयो। धेरैले बलिदान दिएका छन्। त्यसैले मधेस प्रदेश नामको कुनै विकल्प छैन।’
यता कांग्रेसले राजधानी जनकपुर र नाम मिथिला भोजपुरा नै पुनः प्रस्तावको रुपमा अघि लैजाने बताएको छ। कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले राजधानीमा दलहरु सहमत भएकाले अब टुंगो लाग्ने सम्भावना बढेको बताउँदै नाममा अझै सहमति जुटुन नसकेको बताए। उनले नामको विषयमा कांग्रेसले पुनः सुरु कै प्रस्ताव ‘मिथिला भोजपुरा’ लैजाने स्पष्ट पारे।
‘नाममा हाम्रो पहिले जुन प्रस्ताव थियो त्यहि रहन्छ। राजधानीमा सबै दल सहमत छन् तर नामको विषयमा कांग्रेस मिथिला भोजपुरा नै पुनः प्रस्ताव गर्छ’ उनले भने।
यता नेकपाले राजधानीलाई जनकपुर नै पुनः प्रस्ताव गर्ने बताएपनि पहिलो पटक प्रस्ताव गरेको ‘जानकी प्रदेश’ नाममा पार्टीको बैठक बसेर परिवर्तन गर्ने वा नगर्ने निर्णय लिने जनाएको छ।
‘राजधानी जनकपुर नै हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ। तर प्रदेशको नाम ‘जानकी’ नै पुनः प्रस्ताव गर्ने वा अन्य कुनै नाम लैजाने विषयमा पार्टीमा बैठक बसेर छलफल गरी निर्णय लिन्छौं’ नेकपा प्रदेश २ संसदीय दलका नेता सत्यनारायाण मण्डलले भने ‘तर सत्तासिन दलको मधेश प्रदेश नामलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं।’
संवैधानिक व्यवस्थाअनुसार प्रदेशको स्थायी राजधानी र नाम तोक्न दुई तिहाइ अर्थात ७२ मत जरुरी हुन्छ। प्रदेश २ मा १०७ जना प्रदेशसभा सदस्य छन्। सत्ताधारी दलका ५५, नेकपाका ३२, नेपाली कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका १ जना सांसद छन्।

प्रतिक्रिया