नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमा आफ्नो पनि सहमति रहेको स्पष्ट पारेका छन्।
सो प्रतिवेदनबारे भ्रम छरिएको भन्दै गौतमको सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ।
‘नेकपा उपाध्यक्ष क. वामदेव गौतमले अध्यक्ष क. प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ’ गौतमको सचिवालयले भनेको छ।
प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी सतिसालझैँ अडिग रहेको सचिवालयले स्पष्ट पारेको छ।
यसबीचमा राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उनले सोही कुरा व्यक्त गरेको सचिवालयको स्पष्टिकरणमा उल्लेख छ।
‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो’ गौतमको सचिवालयले भनेको छ, ‘ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस्। उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस्।’

प्रतिक्रिया