सांगठनिक एकीकरणमा गतिरोध सामना गरिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष सचिवालय बैठक स्थगन गरेर विदेश भ्रमणमा जाने भएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यसँग परामर्श गरेर विभागीय प्रमुखको टुंगो लगाउने निर्णय गरेको छ।
यसका लागि दुई साताको समय प्रदान गर्ने निर्णय बैठकले गरेको छ।
यो बीचको समयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रमशः सिंगापुर र दुबई भ्रमणमा जाने भएका हुन्।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले ट्विटरमा लेखेका छन्, ‘प्रम केपी ओली सिंगापुर र अध्यक्ष प्रचण्ड पनि विदेश जाने भएपछि नेकपाको बैठक दुई साता स्थगित’
प्रम केपी ओली सिंगापुर र अध्यक्ष प्रचण्ड पनि विदेश जाने भएपछि नेकपाको बैठक दुई साता स्थगित ।
— Bishnu Rijal (@bishnurijal1) July 29, 2019ओली स्वास्थ्य उपचारका लागि साउन १८ गते सिंगापुर जाने तयारी रहेको बालुवाटार स्रोतले नेपालखबरलाई बतायो। केही समययता उनको स्वास्थ्यमा समस्या देखिँदै आएको छ।
‘पछिल्लो समय उहाँको स्वास्थ्य तलमाथि भइरहेको हुँदा उपचारका लागि जान लाग्नुभएको हो। ७ दिने सिंगापुर भ्रमण निजी स्तरको हुनेछ’, बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।
आइतबार उनको वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। रगत, दिशापिशाब र अल्ट्रासाउन्ड परीक्षणले उनलाई थप उपचार आवश्यक रहेको देखाएको छ। यसअघि बैंककमा नियमित उपचार गराउँदै आएका उनी उपचारका लागि पहिलो पटक सिंगापुर जान लागेका हुन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि मंगलबार दुबई भ्रमणमा जाने निश्चित भएको छ। ‘उहाँको भ्रमण निजी तहको हो। परिवार सदस्यसहित उहाँ दुबई जान लाग्नु भएको हो’, अध्यक्ष दाहाल निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँले त्यहाँ रहँदा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेबारे समेत कुराकानी भएको छ।’
पार्टी एकीकरण प्रक्रियामा स्कूल विभागको जिम्मेवार बाँडफाँटलाई लिएर पूर्वएमाले र पूर्वमाओवादीबीच सहमति बन्न सकिरहेको छैन।
पूर्वएमालेले विदेश र संगठन विभाग प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारी पाइसकेको अवस्थामा स्कूल विभाग आफूहरुले पाउनु पर्ने पूर्व माओवादी पक्षको अडान छ। नेकपामा ३२ विभाग र एक प्रतिष्ठान छन्। पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीले १४ विभाग पाउने दुई अध्यक्षबीच सहमति बनेको छ।

प्रतिक्रिया