नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको आरोप लगाएका छन्।
आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्।
‘यो सरकार स्वार्थमा डुबेको छ, भ्रष्टाचारमा लिप्त छ’, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ। यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो।’
सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए। यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनको भनाइ थियो।
कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन। यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको।’
सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने अवस्था आएको बताए। ‘कोरोना महामारीको बेलामा सरकारले के गर्यो अब यो भनिरहनु परेन,’ उनले भने, ‘अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन। यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ।’
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए।

प्रतिक्रिया