राजनीति


आफूले छोड्नै परे वामदेवलाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव, तीन विकल्पमा छलफल

आफूले छोड्नै परे वामदेवलाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव, तीन विकल्पमा छलफल

मणि दाहाल
पुस ४, २०७७ शनिबार ११:४४,

सत्तारुढ नेकपाभित्र नेतृत्वमा नयाँ विकल्पमा गएर विवाद समाधान गर्ने विषयमा अर्को कोणबाट छलफल शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यदि सहमति खोज्न आफूले पार्टी अध्यक्ष पद छोड्नु परे उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष बनाउन प्रस्ताव गरेका छन्। यो प्रस्तावमा सहमति भए ओलीले अध्यक्ष छोड्ने र पुष्पकमल दाहाल प्रचण्ड तथा वामदेव गौतम दुई जना अध्यक्ष रहने हुन सक्छ।

विवाद निर्णायक मोडमा प्रवेश गरेका बेला सुरु भएको नेकपा स्थायी समितिको अर्को बैठक आइतबार बोलाइएको छ।

सहमतिको स्पष्ट मार्गचित्र नदेखिएका बेला बालुवाटारबाट आएको यो नयाँ प्रस्ताव हो, जसमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सकारात्मक रहेको दाबी गरिएको छ।

‘गौतमलाई अध्यक्ष बनाए पनि यो प्रक्रियाबाट हुनुपर्छ। अहिले उठेका सबै विषयहरुमा छलफल हुनुपर्छ र स्पष्ट खाका पनि आउनु पर्छ’, नेपाल निकट एक नेताले भने।

नेकपाभित्रको शक्ति सन्तुलनको आधारमा धेरैको अनुमान के छ भने यदि ओलीले अध्यक्ष छोडेको अवस्थामा त्यो पदमा वरिष्ठ नेता माधवकुमार नेपाल आउने छन्। त्यसैले ओलीले यसअघि गौतमलाई पटकपटक प्रधानमन्त्री बनाउने आश्वासन दिएजस्तै यो प्रस्तावमा पनि धेरैले विश्वास गरिसकेका छैनन्।

शुक्रबार पेरिसडाँडामा भएको प्रचण्ड–माधव नेपाल पक्षका १ नम्बर प्रदेशका नेताहरूको भेलामा सहभागी नभएका गौतमले त्यही बेला आफ्नो निवासमा करिब दुई दर्जन नेता–कार्यकर्तासँग अध्यक्ष बन्ने प्रस्ताव आएको बताएका थिए।

ललितपुर भैंसेपाटीस्थित गौतमको निवासमा भएको भेलामा पूर्वमन्त्री हरि पराजुली पनि सहभागी भएका थिए।

पराजुलीले नेपालखबरसँग ‘शुक्रबार भएको कुराकानीमा वामदेव गौतमले अध्यक्षको प्रस्ताव आएको बताएको’ खुलाए।

‘कमजोर बनेको बालुवाटार पक्षले अहिले गौतमलाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ। तर यसका लागि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल सकारात्मक हुनुपर्छ, नत्र गौतम अध्यक्ष बनेर मात्रै पार्टीभित्रको समस्या समाधान भैहाल्ने अवस्था छैन’, गौतम निकट नेता पराजुली भन्छन्, ‘स्पष्ट खाका बनाएर जाने हो भने जिम्मेवारी लिन वामदेव तयार हुनुहुन्छ।’

उत्साही हुँदै पराजुलीले गौतम अध्यक्ष हुने हो भने पार्टी एकीकरणको बाँकी काम सक्ने मात्रै होइन, अनुशासनहीन गतिविधिलाई पनि समाप्त गर्ने दाबी गरे।

यसअघि गौतमलाई पटक पटक प्रधानमन्त्रीको प्रस्ताव आएको र स्थायी समितिको पछिल्लो बैठकमा पनि ओलीले गौतमतिर हेर्दै ‘अब प्रधानमन्त्री बनाउने भए वामदेवजीलाई बनाउँ’ भनेपनि त्यो ‘बेमौसमी कुरा’ भएको पराजुलीले बताए।

संभवतः यो नयाँ प्रस्ताव आएपछि नै गौतम शुक्रबार पेरिसडाँडाको भेलामा सहभागी नभएका हुन्। पछि उनले आफ्नो प्रेस संयोजक विश्वमणि सुवेदी मार्फत ‘कुनै पनि गुट भेलामा सहभागी नहुने तर पाँच जना सचिवालय सदस्यको छलफलमा बस्ने’ स्पष्टीकरण दिएका थिए।

शनिबार प्रधानमन्त्री ओली खुमलटारस्थित प्रचण्ड निवास पुग्दा केही बेरपछि गौतम पनि पुगेका थिए, जहाँ उनी दुई अध्यक्षको कुराकानी सुनेर बसेको बताइएको छ। तर ओली र प्रचण्डबीच त्यो भेटमा पनि पुरानै अडान दोहोर्याउने बाहेक कुनै सहमति हुन सकेन।

‘ओलीले प्रचण्डसँग स्थायी समिति बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘प्रचण्डले त्यहीँ छलफल गरेर टुंगोमा पुगौं भन्ने जवाफ दिनुभयो, अरु विकल्पमा त्यहाँ खासै छलफल भएन।’

बालुवाटारले अगाडि सारेको पछिल्लो प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको जिम्मेवारी छोड्ने र सो स्थानमा उपाध्यक्ष गौतमलाई लैजाने विषयमा छलफल सुरु भएको अर्का एक स्थायी समिति सदस्यले पनि बताए।

नेकपाभित्रको पछिल्लो घटनाक्रममा संलग्न स्थायी समितिका ती नेता सहमतिका लागि नेतृत्वका तीन वटा विकल्पमा समानान्तर रुपमा छलफल भैरहेको बताउँछन्।

‘नेकपाभित्र अहिले तीन वटा विकल्पमा छलफल भैरहेको छ– प्रधानमन्त्री ओलीले अध्यक्ष छाडेको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाउने, वामवेद गौतमलाई अध्यक्ष बनाउने वा प्रचण्डलाई एकल अध्यक्ष बनाउने’, उनले भने, ‘पहिलो र दोस्रोमध्ये एक विकल्पमा जाने संभावना बलियो छ। गौतमलाई अध्यक्ष बनाउने प्रस्ताव लठ्ठी पनि नभाँचिने सर्प पनि मर्ने मर्ने विकल्प हो।’

प्रचण्ड र गौतम दुई अध्यक्ष भएमा पार्टी चाँडै महाधिवेशनमा जान सक्ने उनको दाबी छ।

शुक्रबार साँझ गौतमले आफु निकट नेता कार्यकर्तासँग नयाँ प्रस्ताव आएको बताएपछि उनीहरूले ‘तत्काल प्रचण्डसहित सचिवालयका पाँच सदस्यहरुबीच सम्बन्ध नतोड्न र अध्यक्ष हुने भएपनि प्रक्रियागत ढंगबाट अगाडि बढ्न’ सुझाव दिएका छन्।

‘शुक्रबार साँझ हामी करिब २० जना गौतम निवासमा भेला भएका थियौं’, सहभागी अर्का एक नेताले भने, ‘कसरी आफ्नो गतिविधि तल्लो तहसम्म लैजाने भन्ने विषयमा त्यहाँ छलफल भएको थियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .