राजनीति


काठमाडौं आएकै दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ उपमन्त्रीले

काठमाडौं आएकै दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ उपमन्त्रीले

नेपालखबर
पुस १२, २०७७ आइतबार १८:३९,

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार अबेर राति प्रधानमन्त्री ओलीसँग उनकै सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन्।

प्रधानमन्त्री र चिनियाँ उपमन्त्री गुओसहितको प्रतिनिधिमण्डलबीच के विषयमा कुराकानी भयो भन्नेबारे भने केहि खुलाइएको छैन।

गुओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल आइतबार काठमाडौं आएको हो।

चिनियाँ उपमन्त्रीसहितको टोलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालयमा भेट गरेकाे थियाे। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीसँग साे टाेलीकाे एकघण्टा भेटवार्ता भएकाे थियो।

सो चिनियाँ टोलीले सोमबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

उनले सोमबार बिहान ९ बजे अध्यक्ष प्रचण्डसँग भेट गर्ने तय भएको नेकपा प्रवास समन्वय कमिटी अध्यक्ष युवराज चौलागाईंले बताएका छन्।

‘भोलि बिहान ९ बजे अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमा चिनियाँ प्रतिनिधिमण्डलको भेट तय भएको छ,’ उनले भने।

अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सो टोलीले सोमबार नै भेट गर्ने भएको छ।

यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पनि चिनियाँ टोलीले भेट गर्दैछ। बिहान ११ बजे खनाल निवास डल्लुमा भेट तय भएको खनालको सचिवालयले जनायो।

नेकपा विभाजनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर सो टोली आइतबार नेपाल आइपुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .