राजनीति


नेपाली कांग्रेस (बीपी)सँग एकताको पहल गर्दै विवेकशील साझा

नेपाली कांग्रेस (बीपी)सँग एकताको पहल गर्दै विवेकशील साझा

यज्ञराज जोशी
पुस २९, २०७७ बुधबार १२:४३,

विवेकशील साझा पार्टीले नेपाली कांग्रेस (बीपी) सँग एकताको पहल थालेको छ। एकता प्रक्रिया अघि बढाउन दुवै पार्टीले राजनीतिक संवाद समिति गठन गरेका छन्।

नेपाली कांग्रेस (बीपी) मूल पार्टी नेपाली कांग्रेसबाट २०७४ को आम चुनावको एक महिनाअघि छुट्टिएको थियो।

हरिबोल भट्टराई सभापति रहेको उक्त पार्टीको २६ सदस्यीय केन्द्रीय कार्यसमितिमा पूर्वमन्त्री सुशीलमान शेरचन, झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पुष्पराज पराजुली, देवेन्द्रप्रकाश पौडेल लगायत छन्।

प्रवक्ता समेत रहेका पौडेलले तत्कालीन साझा पार्टीसँग दुईतीन पटक अनौपचारिक छलफल भइसकेको र संवाद समितिले औपचारिक छलफल गर्ने बताए।

‘वैकल्पिक पार्टीसँग एकता गर्ने कुरो हो। दुई तीन चरणमा तत्कालीन साझा पार्टीसँग अनौपचारिक कुराकानी भएको थियो। संवाद समिति समेत गठन भएको छ,’ पौडेलले भने, ‘हामी एकताको पक्षमा सकारात्मक छौं। माघ महिनाभित्र आवश्यक सहमति खोजेर अघि बढ्छौं।’

कांग्रेस (बीपी)को संवाद समितिमा महामन्त्री सुशीलमान शेरचन, प्रवक्ता पौडेल लगायत छन्।

यो पनि: नगरप्रहरीले ठेला खोसेपछि मञ्जुको पीडाः अब कसरी पेट पालौँ? (भिडियो)

वैकल्पिक राजनीतिको नारासहित भर्खरैमात्र पुनः एक भएका विवेकशील साझा पार्टीले पनि बुधबारमात्रै पार्टी एकताका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

विवेकशील साझाले केन्द्रीय सदस्य केशव दाहालको संयोजकत्वका रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको संवाद समिति गठन गरेको छ।

संयोजक दाहालले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकताका लागि संवाद समिति गठन गरिएको जानकारी दिए।

‘पार्टी विस्तार गर्ने क्रममा केही मन मिल्ने व्यक्ति, समूह र पार्टीसँग अनौपचारिक कुराकानी भएका छन्,’ दाहालले भने, ‘हामीले वैकल्पिक पार्टी निर्माण गर्न खोजेका हौं। मुल आशयलाई फरक नपर्ने गरी सोच मिल्नेसँग संवाद अघि बढाउँछौं।’

दाहालले कांग्रेस (बीपी) मात्रै नभएर अन्य पार्टी र समूहसँग पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए।

विवेकशील साझाका तत्कालीन संयोजक रवीन्द्र मिश्र र कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराई २०७४ को आम चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट लडेका थिए।

जसमा नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ भोट ल्याई विजयी भएका थिए। मिश्र मात्र ८१८ मतले पराजित भएका थिए। भट्टराईले १९६ भोट मात्रै पाएका थिए।

एकताको कुराकानी अघि बढाउँने भनेपछि यी दुईबीच संम्विधानको विषयमा भने मतान्तर छ। विवेकशील साझाले अहिलेको संविधानमै टेकेर अघि जानुपर्ने मत राख्दै आएको छ। कांग्रेस(विपी)ले संविधान सच्चाएर जानुपर्ने मत राखेको छ।

‘२०७२ सालको संविधान विदेशीको इसारामा बनेको हो। धर्म निरपेक्षता, संघीयता र गणतन्त्र मुलुकका लागि अभिशापसिद्ध छ। यसलाई करेक्सन गरेर अघि जानुपर्छ भन्ने हाम्रो मत छ,’ प्रवक्ता पौडेलले भने, ‘संविधानमा टेकेर जाऔं भन्ने विवेकशील साझाको कुरो छ। छलफलपछि कसरी अगाडि जाने भन्ने निष्कर्ष निस्किएला।’

२०७६ साल फागुनमा लुम्बिनीमा भएको तत्कालिन साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाले समेत धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .