प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई दुई महिना बहस गरे पनि समय दिने बताएका छन्।
शुक्रबार बहसका लागि इजालसमा पुगेका अधिवक्ता कपिल प्रसाद अधिकारीलाई प्रधानन्यायाधीशले १० मिनेटभित्रमा आफ्नो कुरा सक्न भनेका थिए। तर, अधिकारीले १० मिनेटमा नसकिने बताएपछि प्रधानन्यायाधीशले भने, ‘दुई महिना बहस गरे पनि समय दिउँला तर तपाईंहरुले यसमा सोच्नु पर्ने कुरा हो।’
प्रधानन्यायाधीश जबराले बहस लम्बिँदा पर्न सक्ने असरका बारेमा अधिवक्ताहरुको ध्यानाकर्षण गराएका हुन्।
‘चानचुन ३ सय जति अधिवक्ताहरु हुनुहुन्छ, अब आफैं भन्नुहोस् के हुन्छ? हामीले मात्रै हत्तार गरेर हुँदैन’, प्रधानन्यायाधीश जबराले भने। प्रधानन्यायाधीशले ध्यानाकर्षण गराएपछि अधिवक्ता अधिकारीले ५ मिनेटमै आफ्नो बहस सकेका थिए।
आइतबारबाट संविधान विघटनविरुद्ध परेका रिटमाथि बहस सुरु भएको हो। शुक्रबार नै वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरेका थिए। अहिले जनक साउदले बहस गरिरहेका छन्।

प्रतिक्रिया