राजनीति


कांग्रेसले भन्योः केपी ओलीले प्रधानमन्त्री पदको गरिमालाई माटोमा मिलाइदिए

कांग्रेसले भन्योः केपी ओलीले प्रधानमन्त्री पदको गरिमालाई माटोमा मिलाइदिए

नेपालखबर
माघ १२, २०७७ सोमबार १०:२०,

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पदको गरिमालाई ओलीले माटोमा मिलाइदिएको जनाएका हुन्।

‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात् बनाउँदै लगेका छन्’, उनले भनेका छन्, ‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ। उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ।’

संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार भन्दै उनले प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिकमात्रै नभई उनको अधिनायक आकांक्षालाई यसले थप उजागर गरेको उल्लेख गरेका छन्।

कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको उल्लेख गर्दै शर्माले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको बताएका छन्।

‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो’, शर्माले भनेका छन्।

संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन कांग्रेसले प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिएको छ।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad