राजनीति


संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा र वरिष्ठ अधिवक्ता श्रेष्ठबीच चर्काचर्की

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा र वरिष्ठ अधिवक्ता श्रेष्ठबीच चर्काचर्की

उजिर कार्की
माघ १६, २०७७ शुक्रबार ८:३२,

प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच चर्काचर्की भएको छ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले बहसका लागि पर्याप्त समय माग गरे पनि जबराले २ बजे भित्रमा बहस सक्न भनेपछि केही समय रस्साकस्सी चलेको हो।

पूर्व महान्यायाधीवक्तासमेत रहेका श्रेष्ठ बोलीरहेका बेला प्रधानन्यायाधीश जबराले तपाईंले २ बजे भित्रमा सिभ्याउनु पर्छ भनेका थिए। ‘त्यति बेला मेरो सकिँदैन श्रीमान’, ४० मिनेट बहस गरिसकेका श्रेष्ठले भने, ‘अहिलेसम्म विषय प्रवेश नै गरेको छैन।’

श्रेष्ठको जवाफपछि जबराले फेरि भने, ‘होइन, तपाईंले धेरै विषय ओपन गरिसक्नुभयो, अब २ बजेसम्ममा सक्नुस्।’ त्यसपछि फेरि श्रेष्ठले सोधे, ‘मैले केही रिपिट गरेको छु र श्रीमान्?’

प्रधानन्यायाधीश जबराले रिपिटको कुरा नभएर समयको दायरालाई मान्नु पर्ने बताए। उनले सबैलाई मागेजति समय दिने हो भने त्यसमा मन्जुरी गर्न समेत आग्रह गरे।

याे पनि  : ‘संसद् देख्यो कि तर्सिहाल्ने, प्रधानमन्त्री ओलीलाई पार्लियामेन्ट्री फोबिया भएछ’

‘तपाईंले रिपिट गरेको कुरै छैन वरिष्ठ ज्यू, तपाईंलाई हामी हार्दिकताका साथ भन्छौं, त्यतिबेलासम्ममा सक्नुस्, मिल्दैन भने बस्नुस्’, जबराले भने, ‘हामी कसैलाई पनि रोक्दैनौं, तपाईं मन्जुर गर्नुस्।’

‘यस्तो रिक्वेस्ट गर्दा पनि श्रीमान् मैले समय नपाउने?’, श्रेष्ठले थपे।

‘रिक्वेस्टको कुरै छैन। मैले तपाईंहरुलाई भन्नु नपरोस् के’, जबराले भने, ‘तपाईंहरुको तर्फबाट मात्रै ६६ जना हुनुहुन्छ, सबैलाई मागे जति समय दिन थाल्यो भने के हुन्छ?’

‘हैन श्रीमान् म लास्ट हो’, श्रेष्ठले फेरि आग्रह गरे। उनले देव गुरुङको तर्फबाट बहस गर्ने अन्तिम बहसकर्ता भएको बताए। तर, गुरुङको तर्फबाट अन्तम भए पनि अझै १५÷१६ जना अरु रिट निवेदकका तर्फबाट रहेको बताए।

‘जम्मा कानुन व्यवसायी ३ सय जना जति हुनुहुन्छ, ५ घण्टाका दरले दिन थाल्यो भने के हुन्छ?’ जबराले भने।

त्यसपछि श्रेष्ठले आफ्नो बहसलाई निरन्तरता दिए। यसअघि रात्रपत्रमा सूचना प्रकाशन भएको विषयमा पनि श्रेष्ठले बोल्न खोज्दा जबराले रोकेका थिए। त्यो विषय पनि श्रेष्ठले आजै उठाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad