आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद अवस्थामा निधन भएको छ।
बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका- ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो। प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएको छ। इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको बताए। वाग्लेको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको डिएसपी भाटले बताए।
‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको हो,’ डिएसपी भाटले नेपालखबरसँग भने, ‘हेल्मेट टाउकैमा थियो। हामीले घटनास्थलबाट उठाएर बरहथवा अस्पताल पुर्याऔँ, डाक्टरले मृत्यु भइसकेको घोषणा गर्नुभयो। शव अस्पतालमै छ।’
आन्दोलनरत नेकपाले बुधबार साँझ सर्लाहीको वरहथवामा आयोजना गरेको मशाल जुलुशमा सहभागी भएर घर फर्कने क्रममा घटना भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले बताए।
‘यो सवारी दुर्घटना मात्रै होइन भन्ने हामीलाई लागेको छ। घटना शंकास्पद छ,’ उनले भने।
प्रहरीले भने वाग्ले सवार मोटरसाइकललाई कुनै सवारी साधनले ठक्कर दिएको जस्तो नदेखिएको जनाएको छ। ‘तीव्र गतिको मोटरसाइकल आफैँ दुर्घटना भएको जस्तो देखिन्छ, हामी अनुसन्धानकै क्रममा छौँ,’ डिएसपी भाटले भने।
नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भएका थिए। पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न वाग्ले बरहथवामा बसेका थिए। मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा दुर्घटना भएको हो। घटनास्थल नयाँरोड बरहथवा सडक खण्डमा पर्छ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका करिब ५२ वर्षीय वाग्ले पछिल्लो समय संसद विघटनविरुद्धको आन्दोलनमा सक्रिय थिए। प्रखर बक्ताको रुपमा परिचित वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका- १ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए।
पछिल्लो समय वाग्लेले पीडितलाई साथमा लिएर सर्लाहीका कुख्यात सुदखोर श्याम परदेशी र लालबाबु यादवलाई कानुनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए। हाल यो मुद्दा अदालतमा छ।
‘उहाँ सुदखोरहरुको ‘टार्गेट’ मा हुनुहुन्थ्यो,’ नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सह-इन्चार्ज अच्युतम काफ्लेले भने, ‘आफैँले चलाएको मोटरसाइकल दुर्घटनाको कारण उहाँको मृत्यु भएको हो भनेर पत्यार लाग्दैन, घटना शंकास्पद छ। पोष्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि यथार्थ कुरो बाहिर आउला।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि वाग्लेको मृत्युलाई रहस्यमय बताएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य क. डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ। अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठूलो क्षति भएको छ। श्रध्दाञ्जली कमरेड ! बहिनी सरस्वति, परिवारका सवै सदस्यहरु र असहनीय पिडामा रहनुभएका सवैलाइ समवेदना।’

प्रतिक्रिया