राजनीति


रुपन्देहीमा बन्दको आंशिक प्रभाव

रुपन्देहीमा बन्दको आंशिक प्रभाव

प्रकाश न्यौपाने
माघ २२, २०७७ बिहिबार ११:२३,

संवैधानिक आयोगका पदाधिकारीहरु असंवैधानिकरुपमा नियुक्त गरी सपथ ग्रहणसमेत गराइएको भन्दै नेकपा प्रचण्ड-माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको प्रभाव रुपन्देहीमा आंशिक परेको छ।

रुपन्देहीका मुख्य सहरहरु बुटवल, भैरहवा, देवदह, सैनामैना, धकधई, लुम्बिनीमा बन्दको प्रभाव केही मात्रामा परे पनि ग्रामीण इलाकामा भने बन्दकर्ता नदेखिएको प्रहरीले जनाएको छ।

बुटवलमा युवा नेता राजु गुरुङको नेतृत्वमा बन्दकर्ताले टायर बालेर विरोध जनाएका थिए। लुम्बिनी प्रदेशको मुकामसमेत रहेको बुटवलमा जिल्लाको अन्यस्थानमा भन्दा आम हड्तालको प्रभाव केही बढी देखिएको छ। यद्यपि निजी सवारी मोटरसाइकल भने निर्वाधरुपमा चलेका छन्।

भित्री सडकहरुमा इरिक्सा, चारपांग्रे साना गाडीहरु पनि भलिरहेका छन्। भैरहवा क्षेत्रमा पनि निजी सवारी चलेका छन्। बुटवलका चोकहरुमा बन्दकर्ता भए पनि भैरहवामा भने खासै देखिएनन्।

भैरहवा प्रचण्ड–माधव समूहका नेताहरु डार्विन रोका, जीवलाल अर्याल, कमला थापा, राम बहादुर बस्नेत, चोपलाल आचार्यलगायत केही समय सडकमा निस्किएर बन्द गराए पनि उनीहरु पनि धेरै समय बसेनन्।

यसले गर्दा भैरहवामा भित्री र मुख्य सडकमार्गमा रहेक केही किराना तथा खाद्यान्न पसल तथा होटलहरु खुलेका छन्। बैंक तथा वित्तीय संस्था पनि खुल्ला रहे। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी रुपन्देहीमा ठप्प रहे।

यस्तै, विद्यालय तथा उद्योग कलकारखाना पनि ठप्प भएका छन्। बन्दका कारण भन्सार नाकामा सयौं गाडी रोकिएका छन्। यातायात लगायत शैक्षिक क्षेत्र र उद्योग कलकारखाना बन्द रहे पनि जिल्लामा आम हड्ताल शान्तिपूर्ण रहेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए।

दिउँसो ४ बजेसम्म जिल्लामा कुनै किसिमको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। अन्य स्थानमा सवारी तोडफोड र झडपसमेत भए पनि रुपन्देहीमा बन्दकर्ताले शान्तिपूर्णरुपमा बन्द गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .