राजनीति


यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

सागर न्यौपाने
माघ २२, २०७७ बिहिबार १५:५४,

दैनिक हजारौंको भीड भइरहने व्यापारिक क्षेत्र दरबारमार्गमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले बृहत सभा गर्ने भएको छ।

नेपालमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डका शोरुमहरुको मुख्य केन्द्र मानिने यही ‘किंग्स वे’ मा विभिन्न जिल्लाबाट ल्याइएका हजारौं सहभागीलाई राखेर ओलीले भाषण गर्नेछन्।

पुस ५ गते हठात‍् प्रतिनिधि सभा विघटन गरेका ओलीले त्यसयता दैनिकजसो आयोजना गरिने सभा तथा कार्यक्रमहरुमा आफूले सो कदम चाल्नुका कारण व्याख्या गर्ने गरेका छन्।

तर शुक्रबारको सभामार्फत् उनले नयाँ घोषणा गर्ने प्रचार ओली पक्षले नै गर्दै आएको छ।

विभाजनपछि शक्ति प्रदर्शनमा नेकपाको अर्को पक्षसँग प्रतिस्पर्धामा रहेको ओली पक्षलाई ठूलो संख्यामा भीड जम्मा गर्नुपर्ने दबाब छ। त्यसैले सो प्रचार गरिएको हुनसक्ने धेरैको अनुमान छ। त्यसो त सरप्राइज दिन मनपराउने ओलीबारे कुनै अनुमान गर्न गाह्रो हुने पनि केहीको भनाइ छ।

Durbarmarg 4

नारायणहिटी दरबारअगाडि राखिएको सो सभाका लागि बिहीबार साँझदेखि मञ्च निर्माणको काम तीव्र रुपमा भइरहेको छ।

मञ्चलाई भव्य बनाउन ओलीनिकट नेता तथा कार्यकर्ताहरु बिहीबार साँझ दरबारमार्गमा खटिएका देखिन्थे।

बिहीबार प्रचण्ड–नेपाल पक्षले आमहडताल राखेका कारण समयको ‘प्रेसर’ मा रहेका त्यहाँ खटिएका केही व्यक्तिहरुले बताए।

प्रधानमन्त्रीसहित अन्य शीर्ष नेताहरु सहभागी हुने सो कार्यक्रमस्थलमा सुरक्षादेखि स्वास्थ्य सेवाको समेत प्रबन्ध मिलाइएको छ।

‘टी’ आकारमा बनाइने सभास्थलमा झण्डै एकलाख सहभागी अट्ने क्षमता रहेको मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी समेत सोही हाराहारीमा आउने उनको भनाइ छ।

‘एक लाख बढी सहभागी हुन्छन् भन्ने हाम्रो अनुमान हो,’ दरबारमार्गमै भेटिएका उनले भने।

त्यसो त प्रचण्ड–नेपालले बिहीबार गरेको आमहडतालले सहभागी संख्या घट्नसक्ने अनुमान पनि भइरहेको छ।

श्रेष्ठ भने सो अनुमानसँग सहमत छैनन्। कार्यक्रम शुक्रबार दिउँसो हुने भएकोले सहभागीको संख्यामा कुनै कमी नहुने उनको भनाइ छ।

Durbarmarg 8

सभामा उपस्थित हुनेलाई मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टी ‘टी’ आकारमा राख्ने व्यवस्था मिलाइएको उनले बताए।

दरबारमार्गको खण्डमा सडकबीचमा राखिएका डिभाइडर सहभागीलाई बस्न सजिलो होस् भनेर पन्छाइएको छ।

बिहीबार बेलुकाबाट मञ्च व्यवस्थापनको काम सुरु गर्न श्रेष्ठ खटिएका छन्।

‘अहिले साँझ ८ बजेबाट मञ्च बनाउन सुरु हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने।

नारायणहिटी दरबार अगाडिको ठाउँलाई कार्यक्रमस्थलको रुपमा रोज्नुको कारण र अर्थबारे अनेक चर्चा भइरहेका छन्। ओलीले किन रोजे त दरबारमार्ग?

‘मैले प्रचण्ड–नेपाल समूहले कार्यक्रम गरेको भृकुटीमण्डपमा हेरेँ, त्यो ठाउँ हामीले नाप्दा जम्मा २२ हजार मात्र अट्ने देखियो,’ श्रेष्ठको भनाइ छ, ‘अनि यहाँ आएर नाप्दा एक लाख अट्ने देखियो र सबै सडक नापेर यहाँ उपयुक्त हुने प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेपछि यही ठाउँ तय भएको हो।’

यहाँ कार्यक्रम राखेकोमा मिडिया लगायतमा आलोचना भएकोमा उनले गुनासो गरे।

‘यहाँ किन कार्यक्रम राखेको भनेर मिडियाले खोजनीति गरेन, जबकि हामीले सडक पुरै नापेर सहभागी अटाउने गरी यो स्थान चयन गरेका हौं,’ उनको तर्क छ।

श्रेष्ठका अनुसार नारायणहिटी दरबारअगाडि कार्यक्रम राख्नेबारे सो स्थानको क्षमता हेरेर प्रधानमन्त्रीलाई पछि मात्र रिपोर्टिङ गरिएको हो।

‘भृकुटीमण्डप र नारायणहिटीको सबै सडक नापेर हेर्दा सबैभन्दा उपयुक्त स्थान यही भएकोले यहाँ छनौट गरियो, अनिमात्रै प्रधानमन्त्रीले पनि हुन्छ भन्नुभयो,’ श्रेष्ठले थपे।

Durbarmarg 9

पाँच ठाउँमा डिजिटल स्क्रिन
सभामा भाषण सुन्न र प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न सहज होस् भनेर पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको मञ्च व्यवस्थापक श्रेष्ठले बताए।

‘हामीले दरबारमार्गको महेन्द्र सालिक छेउमा जयनेपाल हलतर्फ, ठमेलतर्फ र यती समूहको भवनमा रहेको डिजिटल स्क्रिनबाट हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ, एउटा स्क्रिन मञ्चकै छेउमा हुनेछ,’ श्रेष्ठले सुनाए।

भोलिको कार्यक्रममा वक्ताहरुको भाषण राम्रोसँग सुन्ने व्यवस्था सुनिश्चित गरिएको उनले बताए।

Durbarmarg 6

१६ ठाउँबाट जुलुस
भोलि काठमाडौंका १६ स्थानबाट जुलुससहित कार्यक्रममा सहभागी ल्याइने तयारी गरिएको छ।

त्यसअघि नै युवासंघले जुलुस निकाल्नेछ। सोही जुलुसका लागि ३ हजार स्वयंसेवक परिचालन गरिएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad