राजनीति


वाग्लेको मृत्युलाई रहस्यमय भन्दै प्रचण्ड र नेपालले भने- उच्चस्तरीय छानबिन होस्

वाग्लेको मृत्युलाई रहस्यमय भन्दै प्रचण्ड र नेपालले भने- उच्चस्तरीय छानबिन होस्

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १२:१३,

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले पार्टीका केन्द्रीय सदस्य डाचाराज वाग्लेको ज्यान जानेगरी भएको सवारी दुर्घटनालाई रहस्यमय भन्दै उच्चस्तरीय छानविनको माग गरेका छन्।

नेकपाले आज सर्लाहीको हरिपुर नगरपालिका- १ हजारबिघामा आयोजना गरेको वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्षद्वयले ‘दुर्घटनाको आवरणमा नेता वाग्लेको हत्या भएको हुनसक्ने’ आशंका व्यक्त गरेका हुन्।

0032

‘डाचाराज जीको मृत्यु स्वाभाविक सडक दुर्घटनाबाट भएको होइन। पार्टीले गरेको प्रारम्भिक छानविनले पनि उहाँको मृत्यु रहस्यमय ढंगले भएको देखाएको छ,’ श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले घटनाको छानविन गरिरहेको छ। छानविनपछि घटनाको वास्तविकता जनता समक्ष ल्याउने छौँ।’

उनले राज्यले पनि नेता वाग्लेको रहस्यमय मृत्यु घटनाको छानविन गर्नुपर्नेमा जोड दिए। ‘म पूर्व प्रधानमन्त्रीको हैसियतमा भन्दैछु उहाँको मृत्यु सामान्य ढंगले भएको होइन। राज्यको तर्फबाट पनि गम्भीर छानविन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्छ,’ प्रचण्डले भने, ‘सुदखोर विरोधी आन्दोलनको नेतृत्व गरेको नेताको प्रतिगमनविरोधी आन्दोनलको क्रममा रहस्यमय ढंगले मृत्यु भएको छ। यसलाई सामान्य सडक दुर्घटनाको रुपमा लिन सकिँदैन।’

0035

नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रहरीले भने जस्तो सामान्य सडक दुर्घटनाको कारणले मात्रै वाग्लेको मृत्यु नभएको बताए। ‘मोटरसाइकल कुनै जनावरसँग ठोक्किएर वा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको भनेर पत्याउन सक्ने अवस्था छैन,’ नेपालले भने, ‘घटना रहस्यमय छ। सरकारले विशेषज्ञ टोली गठन गरेर गम्भीरतापूर्वक छानविन गर्नुपर्छ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सर्लाहीमा मिटरव्याजी सुदखोर विरोधी आन्दोलनको नेतृत्व गरेका वाग्लेको मृत्युलाई रहस्यमय बताए। ‘अहिलेसम्मको छानविनले उहाँको मृत्युलाई रहस्यमय देखाएको छ,’ श्रेष्ठले भने, ‘घटनाको राज्यले पनि गम्भीरतापूर्वक छानविन गरोस्। हामी पनि आफ्नो तर्फबाट छानविन गर्नेछौँ।’

0030

सभामा वाग्लेकी पत्नी सरस्वती मिश्र (वाग्ले)ले पनि आफ्ना पतिको मृत्युलाई रहस्यम घटनाको रुपमा चित्रण गरिन्। ‘प्रहरीले घटनास्थल सुरक्षित राख्ने र समयमै परिवारलाई खबर गर्ने कामसमेत गरेन,’ उनले भनिन्, ‘घटनास्थलबाट डेढ किमीको दुरीमा रहेको हाम्रो घरमा पनि समयमै जानकारी नदिइनुले विभिन्न आशंकाहरु जन्मिएका छन्।’

विगतमा एउटै पार्टीका सहयोद्धा भएर पनि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले वाग्लेको रहस्यमय मृत्यु हुँदा एक शव्द पनि नबोलेकोमा उनले आक्रोस व्यक्त गरिन्।

आफ्ना पतिले जीवनभर शोषित पीडित श्रमजीवि वर्गको हितको लागि काम गरेको चर्चा गर्दै उनले अब त्यो कार्यभार आफ्नो काँधमा आएको बताइन्। ‘म आज यही सभाबाट घोषणा गर्छु, उहाँ (पति)को सपना साकार पार्न म पनि राजनीतिमा आउँदै छु,’ उनले भनिन्।

राजनीतिमा आउने उनको घोषणाको अध्यक्षद्वय प्रचण्ड र नेपाललेसमेत प्रशंसा गरे। उनीहरुले पतिको मृत्यु हुँदा रुढिवादमा आधारित अवैज्ञानिक मृत्यु संस्कार नअंगालेर मिश्रले समाज परिवर्तनको लागि ठूलो साहस गरेको बताए। सभामा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले प्रहरी प्रशासनले वाग्लेको मृत्यु सवारी दुर्घटनामा भएको दाबी गरे पनि मृत्युको कारण खुलिनसकेको बताए।

सभाअघि वाग्लेको मृत्यु भएको स्थान नजिकै बरहथवा नगरपालिका- ९ मुर्तियाचोकमा अध्यक्षद्वयले वाग्लेको शालिकको शिलान्यास गरेका थिए। कार्यक्रममा स्वर्गी वाग्लेका बुवा रेवतीराज वाग्ले, आमा तारादेवी वाग्ले लगायको पनि उपस्थिति थियो।

श्रद्धाञ्जली सभामा नेकपाका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल र लीलामणि पोख्रेल, केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, रामेश्वर राय यादव, दीपबहादुर योञ्जन, प्रकाश पोखरेल, शशी श्रेष्ठ, लक्ष्मण पौडेल लगायतको सहभागिता थियो। सभामा हजारौँको उपस्थिति थियो।

सभाअघि अध्यक्ष प्रचण्ड र नेपाल, प्रवक्ता श्रेष्ठ लगायतले वाग्लेको घरमै पुगेर परिवारका सदस्यसँग भेटघाट गरेका थिए।

0020

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज ५२ वर्षीय वाग्लेको गत माघ २१ गते राति सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित मुर्तिया जंगलको सडकमा शव फेला परेको थियो। आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको दाबी प्रहरीले गर्दै आएको छ। तर, प्रहरीको दाबीलाई परिवारका सदस्य र नेकपाले भने अपत्यारिलो बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .