मस्तिष्कघात भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको चिकित्सकले बताएका छन्।
नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेको बताए।
बिहीबार राति मस्तिष्कघात भएका नेता जोशीको शल्यक्रियापछि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
डा. झाले भने, ‘पहिला हामीले फोक्सोबाट वान्ता निकाल्यौं। पाइप हालेर सास फेर्न सहज बनायौं। उहाँको आँखामा फुलो परेको छ, त्यसको अर्थ आधा दिमागले काम गर्न छोडेको छ।’
त्यसपछि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको पाइएको उनले जानकारी दिए।
‘उहाँको स्वास्थ्य अवस्था स्थिर भन्न मिल्ने खालको छैन। हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ’, डाक्टर झाले भने, ‘रगत पातलो हुने औषधि खाइरहनुभएकाले शल्यक्रिया गर्दा फेरि समस्या होला भनेर हामीले विशेष रगत व्यवस्था गरेर माइनर अप्रेसन गरेर जमेको पानी निकाल्यौं, यो एकदमै जटिल अवस्था हो। संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू बाँच्दैनन्।’
बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा बीर अस्पताल लगिएको थियो।
वीरमा सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि नेता जोशीलाई नर्भिकमा रेफर गरिएको थियो। राति ३ बजेदेखि उनको नर्भिकमा उपचार भइरहेको छ।

प्रतिक्रिया