प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन्।
भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, बागमतीती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे।
प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन्।
प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ। सो अस्पताल रु ६ सय करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन्।
बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।
यस साता प्रधानमन्त्री ओलीको यो दोस्रो झापा भ्रमण हो। यही फागुन १६ गते उनी दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएका थिए। रासस

प्रतिक्रिया