प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्षौदेखिको वार्ताको प्रयास अहिले आएर सफल भएको बताए।
सरकारले विप्लव नेकपासँग रातारात सहमति गर्यो भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिएका हुन्।
‘केहीदिन अघि मैले रातारात सहमति भन्ने सुनेँ, यो रातारात भएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘वर्षौंदेखि हाम्रो वार्ता चलिरहेको थियो। वार्ता गर्दा यत्ति हो हामीले नगरा बजाएर वार्ता गरेनौँ। वार्ता वार्ता झैँ गर्यौँ।’
उनले विप्लवसँग ८÷१० वर्ष अगाडि भएको भेट र छलफलले अहिलेको वार्तामा विश्वासको वातावरण बनाउने काम गरेको बताए। उनले त्यतिबेला केही घण्टा विप्लवसँग नेपालको राजनीतिका सन्दर्भमा कुरा गरेको बताए।
‘वार्ताका लागि विश्वासको थालनी ८/१० वर्ष अगाडि विप्लवजी र म भेटर केही घण्टा नेपालको राजनीतिको सन्दर्भमा गम्भीर कुरा गरेका थियौँ’, उनले भने, ‘मेरो उहाँप्रतिको र उहाँको म प्रतिको विश्वासको जग त्यसै वार्तादेखि मजवुद हुँदै आज यस ठाउँमा आइपुग्यो।’
उनले सहमतिका तीन बुँदा काफी भएको बताए।

प्रतिक्रिया