गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि पाकिस्तानका राजदुत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले नेपालमा राजदुतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरको कार्यकालमा नेपाल पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
उनले केही समयअघिमात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।
उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए।
राजदूत हैदरले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन आफूले सक्दो पहल गर्ने बताए।
उनले नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउँदै नेपाललाई विभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
राजदूत हैदरले नेपालीहरुको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफू प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए।
उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे।
Shares

प्रतिक्रिया