नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई चिराचिरा पारेको आरोप लगाएका छन्।
आफ्नै पार्टी एक बनाउन नसक्नेले देशमा स्थायित्व कायम गर्छु, लोकतन्त्रको रक्षा गर्छु भन्नु भद्दा मजाक भएको टिप्पणी नेता पौडेलले गरेका छन्।
बुधबार राति सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘लोकतन्त्र कसैको पेवा र दाइजो होइन ताकि आफूखुसी प्रयोग गर्न सकोस्, आफ्नो पार्टीलाई चिराचिरा बनाएर दुनियाँसामु रमिता देखाएका ओलीले अझै स्थायित्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाकबाहेक केही होइन।’
एमाले अध्यक्ष ओलीलाई उनले प्रश्न गरेका छन्, ‘आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिंगो देशलाई एकताबद्ध गर्न सक्छ?’
सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गरी यसमा मिसिएका दुई दल (एमाले र माओवादी केन्द्र) नै पुनर्स्थापना गरेयता प्रधानमन्त्री ओलीलेगत फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्य भेला गरी अबदेखि पार्टीमा अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक अन्य शीर्ष पद नरहने निर्णय गर्दै माधव नेपाल–झलनाथ खनाल पक्षको सबै जिम्मेवारी खोसेका छन्।
जसले गर्दा नेपाल–खनालले उनीविरुद्ध निरन्तर बैठक/भेला गरिरहेका छन्। ललितपुरमा हिजो (बुधबार) देखि यो पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी छ।
उता ओलीको निर्णयअनुसार उपाध्यक्ष पद गुमाएका वामदेव गौतमले पनि ओलीविरुद्ध अलग्गै अभियान सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया