ad ad

राजनीति


ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम तयारी, जसपाका नेता भन्छन्ः अवस्था सप्रेको छ

ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम तयारी, जसपाका नेता भन्छन्ः अवस्था सप्रेको छ

सागर न्यौपाने
चैत ९, २०७७ सोमबार १६:२४,

नयाँ सरकार गठनका विषयमा छलफलमा रहेका तीन दलले निर्णायक कदम चाल्नुअघि रणनीतिक बैठक गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमत कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) तीनै दल आन्तरिक छलफलमा जुटेका हुन्।

तीनै दल पहिला आफ्नो पार्टीभित्र निर्णय गराएर मात्र रणनीतिक कदम चाल्ने योजनामा छन्।

संसद् बैठक मंगलबारका लागि बोलाइएको छ।

त्यसअघि नै बसेका कांग्रेस र माओवादी केन्द्रका बैठक रणनीतिक महत्त्वको रहेको विश्लेषण भइरहेका छन्।

नेपाली कांग्रेसका पदाधिकारी/पूर्वपदाधिकारीको बैठक सोमबार बसेको थियो। जसले सरकारबारे के निर्णय गर्‍याे, नेताहरू बोल्न मानेका छैनन्।

सहमहामन्त्री प्रकाशशरण महतले भने क्रियाशील सदस्यताबारे छलफल गरिएको बताए।

कांग्रेसले माओवादी केन्द्र र जसपालाई देखाएर कुनै निर्णय नगरेको देखिन्छ।

सभापति शेरबहादुर देउवा उपयुक्त अवसर कुरेर बसेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत नेता ओली हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै सभापतिलाई दबाब दिइरहेका छन्।

यहीबीच सोमबार कांग्रेसको पदाधिकारी बैठक बसेको हो।

नेकपा माओवादी केन्द्रले मंगलबार बिहानै स्थायी समिति बैठक राख्ने भएको छ। सिंहदरबारमा बस्ने बैठकका एजेन्डा संगठनात्मक र वर्तमान राजनीतिक परिस्थिति मात्रै भनिएको छ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन। यही परिस्थितिमा बस्न लागेको उसको स्थायी समितिको बैठक महत्त्वपूर्ण छ।

अविश्वास प्रस्ताव कहिले?
संसदमा तीन दल मिलेको अवस्थामा स्पष्ट बहुमत पुग्छ। तर सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको जनाए पनि परिस्थिति परिपक्व भइनसकेको भनेको छ।

पदाधिकारी बैठक चलिरहेका बेला नेता रमेश लेखकले सरकार गठन गर्ने अवस्था र परिस्थिति अनुकूल नभएको बताए।

‘सरकार बनाउने कुरा कांग्रेसको हातको कुरा होइन, संसदमा कांग्रेस कमजोर अवस्थामा छ, त्यो परिस्थिति सुनिश्चित भएपछि मात्रै कांग्रेस अगाडि बढ्ने हो,’ लेखकले भने।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले यही चैत ५ गते १० दिनपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने बताएका थिए।

त्यसो त निर्णायक अवस्थामा रहेको जसपाले प्रधानमन्त्री ओली र कांग्रेस, माओवादी केन्द्र दुवै पक्षसँग छलफल गरिरहे पनि कुनै निर्णय दिएको छैन। सोही कारण प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने योजनै रोकिएको नेताहरू बताउँछन्।

माओवादी केन्द्रका एक प्रभावशाली नेताका अनुसार कांग्रेस र जसपा तयार भएको अवस्थामा मात्र प्रस्ताव अघि बढ्नेछ।

‘अहिलेसम्म कांग्रेस र जसपा तयार भसकेका छैनन्,’ उनले नेपालखबरसँग भने, ‘उनीहरू तयार भए तत्काल प्रक्रिया अघि बढ्न सक्छ।’

जसपाका एक नेताका अनुसार ओली सरकारको बहिर्गमनबारे नेताहरूबीच लगभग सहमति जुटिसकेको छ।

‘परिस्थिति छिटोछिटो फेरबदल भइरहेको छ, आजसम्मको अवस्था हेर्दा कुरा सप्रेको छ,’ ती नेताले भने।

नेताहरूका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध केही दिनमै अविश्वास प्रस्ताव ल्याउन अन्तिम प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .