नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (शनिबार) बिहान भेटवार्ता भएको छ।
कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत एमालेका चार सांसदले विश्वासको मत दिएर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएको भोलिपल्ट प्रचण्ड र नेपालबीच छलफल भएको हो।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राख्ने बैठक बहिष्कार गरेका उनीहरूबीच कोटेश्वरस्थित चण्डेश्वर श्रेष्ठको घरमा बिहान एक घण्टा छलफल भएको हो।
छलफलमा नेपाल एक्लै सहभागी थिए भने माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
उनीहरुबीच राजनीतिक परिस्थितिकाे विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।
‘माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी हुनुहुन्थ्यो, नेपाल एक्लै आउनुभयो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछिका कदमबारे समीक्षा भएको छ।’
स्रोतले दिएको जानकारीअनुसार प्रचण्ड र नेपालबीच बिहान सवा ९ बजेदेखि साढे १० बजेसम्म छलफल भएको थियो।
पार्टीको समानान्तर समिति बनाएर झापाबाट काठमाडौं फर्केलगत्तै एमाले नेता नेपालले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिसकेका छन्। यस अघिदेखि नै असन्तुष्ट नेपाल पक्षले कारबाहीपछि देशभर पार्टीका समानान्तर समिति बनाइरहेको छ।
नेकपा छँदा प्रचण्डकै साथमा रहेका नेता नेपालले सर्वाेच्च अदालतले एकता भंग गराउँदै माओवादी केन्द्र र एमाले नै पुनःस्थापित गरिदिएपछि पनि प्रचण्डसँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन्।
यसैबीच कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएपछि हिजो शुक्रबार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वाको मत मागेका थिए।
त्यस क्रममा ओली पक्षकै १ र नेपाल पक्षका ३ गरी एमालेका चार सांसदले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको पद तथा सरकार जोगिएको हो।
ओली–नेपाल पछिल्लो विवादको पृष्ठभूमि
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि नेकपा प्रचण्ड–नेपाल र ओली समूहमा विभाजन भएको थियो। ओलीले असंवैधानिक कदम चालेको भन्दै तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्ष सडक संघर्षमा उत्रिएको थियो भने ओली समूह आफ्नो निर्णयको प्रतिरक्षामा देश दौडाहामा लागेको थियो। साथै दुई समूहबीच आफू आधिकारिक नेकपा भएको दाबीको पनि प्रतिस्पर्धा चलिरहेको थियो।
यस क्रममा संसद् विघटनविरुद्ध परेको मुद्दामा गत फागुन ११ गते सर्वाेच्च अदालतले ओलीको निर्णय असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको थियो। यसपछि हौसिएको प्रचण्ड–नेपाल पक्ष त्यतिबेला आश्चर्यचकित भयो, जब फागुन २५ गते सर्वाेच्च अदालतले अर्काे फैसला सुनायो– एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक हो, पहिलेकै दुई दल अस्तित्वमा छन्।
निर्वाचन आयोगमा आफूले पहिले दर्ता गरेको नेकपाले आधिकारिता पाउनुपर्ने माग गर्दै ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्चले उनकै पक्षमा फैसला सुनाएपछि प्रचण्ड र नेपाल आआफ्ना पार्टीमा फर्किन बाध्य भएका हुन्।
सर्वाेच्चले फैसला सुनाएको ५ दिनपछि फागुन २८ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यको मात्र बैठक राखेर झलनाथ खनाल–माधव नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्ने निर्णय मात्र गरेनन्, गृहमन्त्री रामबहादुर थापासहित आफ्ना पक्षमा लागेका माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयनसमेत गरे। यसपछि अध्यक्षको निर्णय अवैधानिक भन्दै नेपाल पक्ष अलग भएको हो।

प्रतिक्रिया